News

Mar 25, 2011

थरुहट स्वायत्त राज्यपरिषदद्वारा आन्दोलनको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच हालै भएको चारबुँदे सहमतिमा बारम्बार मधेस शब्द प्रयोग भएकोमा थरुहट स्वायत्त राज्यपरिषद्ले आपत्ति जनाउँदै सो शब्द तत्काल हटाउन माग गरेको छ । 'नेपालमा मधेस नै नरहेको अवस्थामा किन र के प्रयोजनका लागि सरकारमा सहभागी दलहरूले थरुहट क्षेत्रलाई मधेस उल्लेख गर्ने हिम्मत गरेका हुन्' परिषद्का केन्द्रीय अध्यक्ष लक्ष्मण थारूले प्रतिप्रश्न गरे । उनले मधेस शब्दले नेपालको अस्तित्व समाप्त पार्ने षडयन्त्रको तानावाना भएको बताए ।
सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थारूले मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उनीहरूले उपभोग गर्न पाउने अधिकार खोज्न कसैले नरोकेको दाबी पनि गरे । उनले भारतमा रहेको मधेसस्थलका विषयमा बारम्बार मधेस शब्द प्रयोग गरिएकोमा त्यसको कडा विरोध गरेको बताए । अध्यक्ष थारूले कथित राष्ट्रघाती चारबुँदे सहमत्प्रति आफ्नो समुदायको कडा आपत्ति भएको बताउँदै सो सहमतिविरुद्ध आन्दोलन घोषणासमेत गरेका छन् । उनले २५ चैतदेखि थरुहट क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल गर्ने कार्यक्रमको पनि घोषणा गरेका छन् ।अध्यक्ष थारूले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने, संविधानमा सबै आदिवासी जनजातिको पहिचानसहितको अधिकारको ग्यारेन्टी गरिनुपर्ने, राज्यका हरेक निकायमा सबै आदिवासी जनजातिको समान सहभागिता गराइनुपर्ने आफूहरूको माग रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

No comments: