News

Mar 17, 2011

जापानमा विकिरणको खतरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो,चैत्र २ - जापानको भूकम्प प्रभावित फुकुसिमास्थित आणविक प्लान्टमा तेस्रोपटकको विस्फोटपछि सरकारी प्रवक्ता युकियो इदानाले त्यसवरपरका बासिन्दालाई भने, 'घरभित्रै रहनू, झ्याल बन्द गरेर भित्र हावा नचल्ने गरी बस्नू ।' विस्फोटले विकिरणको मात्रा बढेको बताउँदै यसले जनस्वास्थ्यमा असर पर्न सक्नेबारे छलफल गरिरहेको जानकारी उनले गराए । झ्यालका भेन्टिलेटर्स नखोल्न र आफ्ना लुगाहरू घरभित्रै झुन्ड्याउन पनि उनले आग्रह गरे । दाइइचि प्लान्टको दोस्रो रियाक्टरमा पनि विस्फोटपछि विकिरणले स्वास्थ्यमा त्यति ठूलो खतरा नहुने दाबी गरे पनि सर्वसाधारणले विश्वास गर्न नसकेको बताएका छन् । प्रधानमन्त्री नओतो कानले सरकारले विकिरणको खतरा रहेको क्षेत्र विस्तार गर्दै उक्त दाइइची प्लान्टदेखि ३० किलोमिटरसम्मका बासिन्दालाई अन्यत्र जान वा घरभित्रै रहन आग्रह गरेका छन् । यसअघि प्लान्टदेखि २० किलोमिटरलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । थप विस्फोटनपछि राष्ट्रसंघीय मौसम एजेन्सीले हावाले विकिरणयुक्त पदार्थ जापान र अन्य एसियाली मुलुकभन्दा टाढा प्रशान्त महासागरतिर पुर्‍याएको जनाएको छ । तर मौसम परिवर्तन हुन सक्ने उसले जनाएको छ । गत शुक्रबार जापानको उत्तरपूर्वी क्षेत्रमा ९ रेक्टर स्केलको भूकम्प र त्यसलगत्तै आएको सुनामीले मृत्यु हुनेको संख्या ३ हजार ४ सय पुगेको छ । दशौं हजारको मृत्यु भएको प्रहरीको अनुमान छ । तर चार दिनको अवधिमा मंगलबार बिहान तेस्रोपटक रियाक्टर-२ पडकएपछि चुहावट भएको विकिरणको खतरा बढेको हो । प्लान्टको रियाक्टर-४ मा आगलागी भएको छ । यसबाट पनि विकिरण चुहिएको अनुमान छ । रियाक्टर-४ मर्मतका लागि भूकम्पअघि नै बन्द गरिएको थियो । तर यसमा प्रयोग भइसकेका फ्युल रडहरू यही क्षेत्रमा स्टोर गरिएका थिए । राजधानी टोकियोदेखि २ सय ५० किलोमिटर पर प्लान्ट रहेको क्षेत्रमा विकिरणको मात्रा बढी देखिएको छ । तर यसले स्वास्थ्य खतरा नहुने दाबी अधिकारीहरूले गरेका छन् । विकिरणको मात्राबारे सरकारले पटकपटक सरकारी अधिकारीहरूले जानकारी गराउँदै आएका छन् । विकिरणको मात्रा स्वास्थ्यमा असर पुर्‍याउने मात्रामा रहेको प्रधानमन्त्रीले जानकारी गराएको केही घन्टामै सरकारी अधिकारीहरूले फेरि घटेको बताएका छन् । दाइइची प्लान्टको रियाक्टर ५ र ६ मा पनि तापक्रम बढिरहेकोले बिस्फोटको खतरा रहेको अधिकारीहरूले बताएका छन् । विकिरणको डरले घर बाहिर निस्किन नपाउने आशंका गर्दै राजधानी टोकियोबासीले दैनिक आवश्यकीय वस्तुहरू संकलन गरिरहेका छन् । केही स्टोरहरूमा खाना, पानी, मुख छोप्ने मास्क र मैनबत्ती सकिएका छन् । ३४ वषर्ीया गृहिणी मारिको कावासेले एफपीसँग भनिन्, 'म अहिले किनमेल गरिरहेको छु, हामी विकिरणका कारण बाहिर निस्किन सक्दैनौँ ।'

No comments: