News

Mar 31, 2011

पूर्वराजा वीरेन्द्र शाहको ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट बैंकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजपरिवारको सम्पत्ति खोज्ने क्रममा पूर्वराजा वीरेन्द्र शाहको सम्पत्तिमध्ये ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट बैंकमा खाता खोलेर राखिएको छ । वीरेन्द्रको नाममा रहेको सम्पत्ति व्यवस्थापन गर्न स्थापित नेपाल ट्रस्टको कार्यालयले प्रधानमन्त्री झलनाथ खनालसँग बिहीबार पेश गरेको आफ्नो बार्षिक प्रतिवेदन २०६६/६७ मा जनाइएको छ । यसैगरी हालसम्म नबिल बैंक, होटल डेला अन्नपूर्ण र औद्योगिक विकास निगमबाट एकलाख ४२ हजार ५०३ कित्ता सेयर ट्रस्टको स्वामित्वमा आएको, लिजभाडामा दिइएका विभिन्न सम्पत्तिबाट रु नौ करोड २७ लाख रकम प्राप्त भएको ट्रस्टले जनाएको छ । नेपाल ट्रस्टको स्वामित्वमा हालसम्म देशका विभिन्न जिल्लामा पाँच हजार ६४ रोपनी क्षेत्रफलको घरजग्गा प्राप्त भएको तथा चालु आर्थिक वर्षमा पोखराको रत्नमन्दिर र भरतपुरको दियालो बङ्गलाजस्ता महत्वपूर्ण भवन तथा जग्गासमेत नेपाल ट्रस्टमा आएको ट्रस्टका कार्यकारी सचिव शङ्करप्रसाद कोइरालाले जानकारी गराउनुभयो । प्रतिवेदन बुझेपछि प्रधानमन्त्री खनालले ट्रस्टलाई योजना तथा कार्यक्रमका साथ अघि बढाउने, स्वदेश तथा विदेशमा रहेको सम्पत्ति खोजबिन कार्यलाई प्रभावकारी बनाउने र प्राप्त भएका तथा प्राप्त हुने सम्पत्तिको संरक्षण, सम्वर्द्धन तथा विकासका लागि बढी ध्यान केन्दि्रत गर्न आग्रह गर्नुभयो । उहाँले ट्रस्टको सम्पत्तिबाट दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

No comments: