News

Mar 19, 2011

जापानका विमानस्थलमै रिइन्ट्री भिसा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ५ - आणविक विकिरणको भयले तत्काल स्वदेश फर्कन चाहनेलाई जापान सरकारले विमानस्थलमै रिइन्ट्री भिसा दिने भएको छ । टोकियोस्थित विदेश मन्त्रालयमा शुक्रबार अपराह्न भएको प्रेस बि्रफिङमा पुनः प्रवेश चाहने विदेशी नागरिकलाई सहजै भिसा दिइने जनाइएको हो । 'मैले पनि आजै रिइन्ट्री भिसा लिएको छु, अब उपयुक्त अवसरमा नेपाल फिर्नेछु,' फुकुसिमा केन्द्रबाट उद्धार गरिएका विद्यार्थी मनीष बज्राचार्यले भने । यस्तो भिसा लिन एक हजारभन्दा बढी विद्यार्थी र व्यवसायी अध्यागमनमा पंक्तिबद्ध देखिएको उनले बताए । जापानमा सोमबार राष्ट्रिय बिदा परेको र शनिबारदेखि तीन दिन बिदा भएकाले उक्त अवधिमा विमानस्थलबाटै रिइन्ट्री भिसा लिन सकिने छ । 'आज राति पनि सेन्दाई क्षेत्रमा छुटेका १७ विद्यार्थी लिएर एउटा रिजर्भ बस टोकियो आएको छ,' राजदूत डा. गणेश योञ्जनले शुक्रबार राति फोनमा भने, 'सेन्दाईमै अरू तीन विद्यार्थी सम्पर्कमा आएका छन्, उनीहरूलाई पनि टोकियो ल्याइनेछ ।' राजदूत योञ्जनका अनुसार विदेश मन्त्रालयले जापानका विभिन्न सहरमा रहेका नेपालीको तथ्यांक केही दिनमा उपलब्ध गराउने भएको छ । फुकुसिमास्थित आणविक सेन्टरहरू विस्फोट हुने त्रासमा टोकियोबाट विदेशी कूटनीतिक नियोगहरू विभिन्न थलोमा स्थानान्तरण भइरहेका बेला परराष्ट्र मन्त्रालयले पनि स्थिति हेरी नेपाली दूतावास ओसाका सार्नका निर्देशन दिएको छ । 'ओसाका सर्नका लागि हामी तयारी अवस्थामा छौं तर मंगलबारसम्मको स्थिति हेरेर मात्रै सबै स्थिति थाहा हुनेछ,' उपनियोग प्रमुख दुर्गाबहादुर सुवेदीले भने ।

No comments: