News

Mar 26, 2011

भारतीय अतिक्रमण दसगजा क्षेत्रमा बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतले कञ्चनपुरसँग सीमा जोडिएको दसगजा क्षेत्रको १२ वटा सीमास्तम्भ क्षेत्रमा अतिक्रमण गरेको छ । अतिक्रमित अधिकांश क्षेत्रमा भारतीय नागरिकले आवादी गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतसित सीमा जोडिएको दक्षिणी क्षेत्रका अधिकांश दसगजा क्षेत्रको नेपाली भूभाग अतिक्रमणमा परेको हो । भारतको लखिमपुर र खिरी जिल्लासँग सीमा जोडिएको दसगजा क्षेत्रमा रहेका सीमास्तम्भ न २८ देखि ३८ सम्म, ३४ देखि ३८ र सीमा स्तम्भ नं ९९ देखि १०० को दसगजा क्षेत्र अतिक्रमणमा परेको छ ।
अतिक्रमित दसगजा क्षेत्रमा भारतीय नागरिकले खेती गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशवदत्त जोशीले लक्ष्मीपुर गाविसका मानबहादुर सुनार र लालबहादुर सुनारको जग्गा धनीपुर्जा भएको दर्ता जग्गामा भारतीय नागरिकले वषौर्ंदेखि अतिक्रमण गरी चलन भोग गर्दै आएको बारे गृह मन्त्रालयमा जानकारी गराइएको बताउनुभयो ।
उहाँले सीमास्तम्भ भएको ठाउँबाट दुवै देशतर्फको ३०।३० फिट जमिनलाई दसगजा अर्थात् नोमेन्सल्यान्ड भनिने गरिएको बताउनुभयो । दसगजा क्षेत्रमा भएको जमिनमा आवादी गर्न नपाइने दुवै देशबीच सम्झौता रहेको उहाँले जानकारी दिनुभयो । दुवै देशका अधिकारीबीच सीमा अतिक्रमण हटाउनेबारे पटक पटकका संयुक्त बैठकमा कुरा उठ्ने गरेको छ ।
गत वर्ष दुवै देशका प्रशासन कार्यालयले सीमास्तम्भ व्यवस्थित गर्ने र दसगजा क्षेत्रको अतिक्रमण हटाउनेबारे सहमति गरेका थिए । सहमतिअनुरुप सीमा निरीक्षण र प्राविधिक समिति गठनबाहेकका कार्य हुनसकेको छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतसँग सीमा जोडिएका यहाँका क्षेत्रमा ३९० वटा सीमास्तम्भ रहेका छन् । ती सीमास्तम्भमध्ये ३, १२, २२, २८ र १९४ देखि २०१ नम्बरका सीमास्तम्भ बेपत्ता छन् ।
सीमास्तम्भ नं. ३ महाकाली नदीको टनकपुर बाँधमा परेको छ । सीमास्तम्भ नं. १२, २२ र २८ लाई महाकाली नदीले बगाएको छ । बगाइएका सीमास्तम्भ बनाउन दुवै देशले हालसम्म चासो नदिएको सीमाविद् मानसिं भण्डारीले बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्रको प्यारातालमा रहेको सीमास्तम्भ नं २०२ लाई भारतले नेपाली भूभागमा सारेको छ ।
भारतले महाकाली नदीपारिका दोधारा चाँदनी भएर बग्ने जोगबुढा नदी क्षेत्रमा रहेको सीमास्तम्भ नं. ४ नजिक भारतले दसगजा क्षेत्र अतिक्रमण गरी तटबन्ध निमार्णको कार्य सुरु गरेको छ । यसैगरी बाइसे विचवाको सीमास्तम्भ नं. १०१ नजिक भारतले बनाउन लागेको खाल्डा र माटोको पर्खाल निर्माणको कार्य स्थगन गरिएको छ । प्रशासकीय अधिकृत जोशीले गत वर्ष दुई देशको संयुक्त टोलीले सीमास्तम्भमा नम्बर दिने काम गरी यथार्थ पत्ता लगाउने कार्य गरिएको बताउनुभयो ।

No comments: