News

Oct 29, 2011

ब्रिटिश म्यूजियममा बुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, कार्तिक १३ वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश म्यूजियममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ । 'द डिपार्टमेन्ट अफ एसिया' कक्षअन्तर्गत 'द लाइफ अफ द बुद्ध' शीर्षकमा टांगिएको दस्तावेजमा बुद्धिज्मलाई भारतको धर्मअन्तर्गत राख्दै 'बुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तरपूर्वी भारतको एक शाही परिवारमा जन्मिनुभएको हो' उल्लेख छ । बुद्धको जन्म महारानी मायाबाट लुम्बिनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ । 'उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट बिरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्ना किन भइरहेका छन् भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी बोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो,' म्युजियममा उल्लेख छ । उक्त दस्तावेजमा बुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि बुद्धका उपदेश शिष्यहरुमा बाँडिएको लेखिएको छ । ग्रेट रसेल स्टि्रटमा अवस्थित विश्वकै पहिलो राष्ट्रिय स्तरको यो सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । 'हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन,' एक कर्मचारीले भने ।
बि्रटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहाससम्बन्धी जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको 'अ हिस्टि्र अफ द वल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स' मा समेत बुद्धबारे त्यही भ्रमपूर्ण तथ्य प्रसारण भएको थियो । बुद्धिष्ट कम्युनिटी सेन्टर, यूकेका उपाध्यक्ष नारायणप्रसाद गुरुङले आगामी १२ नोभेम्वरमा हुने संस्थाको ट्रष्टी बैठकमा यस प्रसंग उठाएर सम्बन्धित निकायमा पुर्‍याउन पहल गर्ने जनाए । कानुनवेत्ता सोलिसिटर राजु थापाले संग्रहालयमा रहेको उक्त तथ्यलाई 'हास्यास्पद' भन्दै संग्रहालयलाई गल्ती सच्याउन पत्राचार गर्ने जनाए । 'नेपाल र नेपालीको पहिचान मेटिने काम कहीं कतै हुन्छ भने कानुनी प्रक्रियाबाटै त्यसविरुद्ध जान हामी तयार छौं,' उनले भने । कपिलवस्तु दिवस अभियानसंग सम्बद्ध इन्जिनियर रामकुमार श्रेष्ठले म्यूजियमको गल्ती सच्याउन नेपाल सरकारकै पहल आवश्यक हुने बताए । सर्च इन्जिन गुगलले पनि यसअघि 'गौतम बुद्ध भारतमा जन्मिएको' भन्ने गलत विवरण सच्याइसकेको स्मरण गर्दै श्रेष्ठले थपे, 'नेपाल सरकारले कुटनीतिक तवरमा यसको समाधान खोज्नुपर्छ ।'

No comments: