News

Oct 7, 2011

क्षेत्रीय शान्ति र निशस्त्रीकरण केन्द्र स्थापना गर्न राष्ट्रसङ्घमा आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २०- राष्ट्रसङ्घको चालु ६६औं महासभाको पहिलो बैठकमा बिहीबार सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि नेपालका राजदूत एवं स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले नेपालमा क्षेत्रीयस्तरको शान्ति र निशस्त्रीकरण केन्द्र स्थापनामा सघाउन सदस्य राष्ट्रहरू समक्ष आग्रह गरे। सम्बोधनका क्रममा उनले विगत वर्षमा झैं नेपालले राष्ट्रसङ्घको चालु सत्रमा 'एसिया-प्रसान्त क्षेत्रमा शान्ति र निशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय क्षेत्रीय केन्द्र' स्थापनासम्बन्धी नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत गर्न लागेका बताए। आणविक अप्रसार सन्धिसम्बन्धी सन् २०१० मा सम्पन्न समीक्षा सम्मेलनले यसको कार्ययोजनामा निशस्त्रीकरण, अप्रसार र आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्नेबारे तीनखम्बे नीतिलाई पारित गरेको प्रसङ्ग उल्लेख गर्दै उनले यी विषयहरू अन्तरसम्बन्धित रहेका र सुरक्षित विश्व सुनिश्चित गर्न सामूहिकरूपमा यसलाई सम्बोधन गरिनुपर्छ भने। उनले विश्‍वमै साना र हलुका हतियारको बढ्दो उपलब्धता र तस्करी चिन्ताजनक छ भन्दै खासगरी द्वन्द्वग्रस्त क्षेत्रमा यो विषय गम्भीर चासोको विषय हो भने। द्वन्द्व विकासको विरोधी हो भन्दै साना हतियारले विश्वभर सर्वसाधारण जनताको जीवनमै आतङ्कको अवस्था सिर्जना गरिरहेको राजदूत आचार्यले बताए।
उनले अन्तर्राष्ट्रिय जगतमा भइरहेको हतियारको ओसारप्रसारको पारदर्शिता र जवाफदेहीतालाई अनुगमन गर्नका लागि कानुनी संरचनाको व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा नेपाल रहेको समेत बताए। विश्‍वभर सैनिक हातहतियारमा निकै खर्च भइरहेको चर्चा गर्दै राजदूत आचार्यले शान्ति, विकास र अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा कम लगानी भइरहेको औंल्याए। विश्‍वको सैन्य खर्चको तुलनामा राष्ट्रसङ्घका लागि भइरहेको खर्च असाध्यै नगण्य रहेको बताउँदै उनले शान्ति निर्माण र आर्थिक उन्नतिका लागि बजेटमा बढोत्तरी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

No comments: