News

Oct 13, 2011

'मन्त्रीलाई नपोल्न' आठ लाखको प्रलोभन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २६- काशीनाथ तिवारी हत्याकाण्डमा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई उम्काउन एक बहालवाला विशिष्ट श्रेणी अधिकृतको मध्यस्थतामा आफूलाई आर्थिक प्रलोभन दिइएको पीडित परिवारले दाबी गरेको छ। आरोपी मन्त्रीकै मन्त्रालयका सह-सचिव नगेन्द्र झाले नयाँ बानेश्वरस्थित निवासमा मंगलबार बिहान बोलाएर आठ लाख रुपैयाँ दिँदै 'किटानी उजुरी फिर्ता लिन' सहमत गराउन खोजेको तिवारीपत्नी बबितादेवीले बुधबार खुलासा गरिन्। झाले उक्त रकम 'व्यक्तिगत सहयोग'को नाममा थमाउँदै बाँकी कुरा मिलाउन मंगलबार दिउँसो प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गराउन खोजेको उनले सञ्चार माध्यमलाई बताइन्। गत वर्ष तिवारीको वीरगन्जमा हत्या हुँदा पर्साका प्रमुख जिल्ला अधिकारी रहेका झाले प्रधानमन्त्रीकहाँ पुर्‍याएर 'झोली भरेर पठाइदिने' आश्वासन दिएको बबिताले उल्लेख गरिन्। 'मात्रै तिमीहरूले कोही हत्यारा चिनेको छैन भनिदिनुपर्‍यो,' उनले झालाई उद्धृत गर्दै भनिन्, 'त्यसपछि २४ घन्टाभित्र वीरगन्ज मालपोतमा जागिर, तिवारीलाई सहिद घोषणा र बच्चाहरूको भरणपोषणको व्यवस्था हुन्छ। जे माग्यो त्यो पाइन्छ।'आफूहरूलाई भावुक बनाएर आठ लाख रुपैयाँ थमाएको र अन्य शुभचिन्तकसँग सल्लाह गरेपछि 'षड्यन्त्र' भन्ने लागेको मृतक तिवारीका सहोदर दाजु प्रयागले बताए। 'अब यो रकम उनीहरूविरुद्ध नै प्रमाणका रूपमा प्रयोग गर्छौं,' उनले भने।
आफ्नो भाइको हत्यालगत्तै भएको भेटघाटमा तत्कालीन प्रजिअ झाले केही सहयोग आफ्नो तर्फबाट गर्ने कबोल गरे पनि वर्षभर केही नगरेको उनले बताए। 'एक वर्षपछि प्रकरणले अर्कै मोड लिएपछि उनले एकाएक आठ लाख मागेर जुटाएको भन्दै थमाए,' उनले भने। उनीहरूसँगै गएका तिवारी परिवारका सहयोगी तथा हिन्दु युवा संघका सल्लाहकार ज्योतिलाल साहका अनुसार झा 'परेका खण्डमा मन्त्री साहलाई दुई मिनेटमै भेटाउन सक्ने' पनि बताउँदै थिए। गृह मन्त्रालयअन्तर्गत दुई वर्ष बस्दा कपिलवस्तु र पर्सा जिल्लाको प्रजिअ भई गत जेठमा भूमिसुधारअन्तर्गत नापी विभाग फर्केका झाले तिवारी परिवारको आरोप खण्डन गरेका छन्।
'यो एकदम गलत कुरा हो। मलाई फसाउने योजना हो। म किन कसैलाई त्यसरी पैसा दिऊँ?' नागरिकले प्रतिक्रिया माग्दा उनले भने, 'उनीहरू मैले प्रजिअ हुँदा के के भनेको थिएँ भनेर आएका हुन्, मैले जे गर्नपर्ने हो त्यतिबेलै गरेँ, अब के गर्ने हो प्रधानमन्त्रीकहाँ जानोस् भनेको हुँ।'तिवारी परिवारले यो घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पुर्‍याउने जनाएको छ। 'एउटा कार्यपालिकाको जिम्मेवार मान्छेले न्यायपालिकाको क्षेत्राधिकारमा रहेको विषय प्रभावित गर्न यसो भन्छ भने यो अख्तियार दुरुपयोग हो, हामी आयोग जान्छौं,' तिवारी परिवारसँग पारिवारिक नाता राख्ने नेपाली कांग्रेस सभासद सुरेन्द्र चौधरीले पीडितसाथ बसेर भने।

No comments: