News

Oct 14, 2011

एनआरएनमा अध्यक्षमा जीवा लामिछाने निर्विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २७- गैर आवासीय नेपाली (एनआरएन) संघको अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका प्रत्याशी वर्तमान अध्यक्ष देवमान हिराचन उम्मेदवारी फिर्ता लिन सहमत भएपछि लामिछाने निर्विरोध भएका हुन्। संघको जारी बन्द सत्रलाई रोकेर दुई प्रत्याशीबीच सहमति भएको घोषणा गरिएको छ। घोषणामा लामिछाने र हिराचन दुवै उपस्थित थिए। बन्द सत्रमा भएको घोषणा लगत्तै सञ्चारकर्मी सामु उपस्थित भएका लामिछानेले हिराचनसँगै उपस्थित भई भने, 'हामी बीच कुनै मतभेद छैन।' उनले अगाडि भने, 'सानोतिनो कुरालाई बढाइचढाइ गरियो'। हिराचनले वर्तमान उपाध्यक्ष लामिछानेका लागि अध्यक्ष पद छाडेको बताउँदै उनको कार्यकालको सफलताको कामना गरे। यसअघि, गएराति भएका सहमति प्रयास असफल भएपछि चुनाव निश्चित झैँ देखिए पनि संस्थापक अध्यक्ष उपेन्द्र महतोको पहलमा आज बिहान अध्यक्षका दुवै प्रत्याशीलाई साथै राखी सहमतिको प्रयास पुनः थालिएको थियो। सहमतिका लागि दबाब दिन महतोले चुनाव भए आफू एनआरएनबाट अलग हुने भन्दै हिजो दिनभर सम्मेलन स्थलका कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन्। गएराति अध्यक्ष पदका दुवै उम्मेदवारले आफ्ना भनाइ राख्दै एजेन्डा सार्वजनिक गर्ने कार्यक्रम (ककस) मा समेत एकअर्काबीच आरोप प्रत्यारोप भएपछि केही मिनेटमै छलफल अवरुद्ध हुन पुगेको थियो। उम्मेदवारी फिर्ता लिने निर्धारित समय बिहान नौ बजे र निर्वाचन ११ बजे सुरु हुने भनिए पनि महतोसहित अध्यक्षका प्रत्याशी र पदाधिकारीहरु सम्मिलित बैठक सहमतिका लागि निरन्तर बसेको थियो। एनआरएनको आठ वर्षको इतिहासमा सँधै अध्यक्ष सर्वसम्मतिबाट चुनिँदै आएको छ। एनआरएनको कूल २० पदका लागि ३४ जनाको उमेदवारी परेकोमा अध्यक्षसहित हालसम्म ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बाँकी पदका लागि पनि सहमतिको प्रयास भइरहेको छ। कार्यसमितिमा यसअघि नै ६ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

No comments: