News

Oct 27, 2011

आज मुलुकभर परम्पराअनुसार गाईपूजा, गोवर्धनपूजा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज मुलुकभर परम्पराअनुसार गाईपूजा, गोवर्धनपूजा, गोरुपूजा र म्हःपूजा गरिँदै छ । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा सिङ्ग र खुरमा तेल तथा जीउमा रातो–सेतो छाप लगाइ पूजा गरिने परम्परा रहिआएको छ । गाईलाई “लक्ष्मीयां लोकपालानां धेनु रुपेण संस्थिता । घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु” मन्त्रद्वारा पूजा गरिन्छ । सामान्यतः तिहारको तेस्रो दिन गाईपूजा पर्ने भएकाले कतिपयले हिजै गाईपूजा गरेका थिए । आजै घरआँगनमा लिपपोत गरी गोवद्र्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्धनपूजा गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवद्र्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनुभएकाले त्यसै बेलादेखि गोवद्र्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ । यसैगरी वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । यस्तै नेवार समुदायमा पनि आज साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता रहेको पाइन्छ ।

No comments: