News

Oct 18, 2011

प्रधानमन्त्रीका लागि हुलासले अर्को गाडी बनाइदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, असोज २९- स्वदेशमै बनेको मुस्ताङ म्याक्स गाडी चढिरहेका प्रधानमन्त्री डा.बाबुराम भट्टराईका लागि मोटर उत्पादन कम्पनी हुलास मोटर्सले सुविधायुक्त अर्को गाडी बनाउने भएको छ। आरामदायी र सुरक्षित नभएको भन्दै गृह मन्त्रालयले प्रधानमन्त्री चढ्ने अर्को सुविधायुक्त गाडी बनाउन मौखिक आग्रह गरेपछि हुलास मोटर्सले नयाँ गाडी बनाउन तयार रहेको जनाएको छ। गृह मन्त्रालयको लिखित ‘अर्डर' कुरिरहेको हुलास मोटर्सले पत्र आएलगत्तै प्रधानमन्त्रीका लागि नयाँ गाडी बनाउन सुरु गरिने जनाएको छ।
प्रधानमन्त्रीका लागि बनाउन लागिएको मुस्ताङ म्याक्सको सुविधायुक्त गाडी २५ सय ४० सिसि क्षमताको हुनेछ। कम्पनीका अनुसार प्रधानमन्त्री हाल चढिरहेका गाडी भन्दा नयाँको मोडेल र डिजाइन फरक हुनेछ। गृह मन्त्रालयले तोकेको सुरक्षाका हरेक बन्दोबस्त हुने उक्त गाडी वातानुकूलित(एसी) हुनेछ। पावर स्टेरिङ जडान गरिने नयाँ गाडीमा चालकसहित ९ जना बस्ने सिट हुनेछ। प्रधानमन्त्री डा.भट्टराईले मुस्ताङ गाडी चढ्न थालेपछि हुलास मोटर्सले उनका लागि नयाँ डिजाइनका गाडी निर्माण गर्न आफ्ना केही प्राविधिकहरुलाई भारत हालै प्रशिक्षण समेत दिलाएका छन्।
स्वदेशी उत्पादनलाई बढाबा दिन प्रधानमन्त्रीले मुस्ताङ गाडी चढेपनि सुरक्षाको दृष्टिकोणले ‘राम्रो' नभएको र डिजाइन पनि भद्दा देखिएको भन्दै आलोचना हुन थालेपछि हुलासले सुविधासम्पन्न बनाउन प्राविधिकहरुको टोलीलाई तालिमका लागि भारत पठाएको थियो। प्रधानमन्त्री चढ्ने अर्को गाडी बनाउन हामी तयार भएर बसेका छौ'-हुलास मोटर्सका प्रशासनिक अधिकृत जयन्त बजँगाईले नागरिकसँग भने,‘गृह मन्त्रालयले लिखित अर्डर गर्नैबित्तिकै गाडी बनाउन सुरु हुन्छ।' प्रधानमन्त्रीका लागि बनाइने नयाँ सुविधायुक्त गाडीको मोल झण्डै २० लाख रुपैयाँ पर्नेछ। हाल चढिरहेको गाडी १४ लाख रुपैयाँको हो। ‘गृह मन्त्रालयको सुरक्षा मापदण्ड अनुसारको अत्याधुनिक गाडी बनाउन हाम्रा प्राविधिकहरु तयार छन,'बजँगाईले भने,‘नयाँ बन्ने गाडीको तान्ने शक्ति अहिलेको भन्दा दोब्बर हुन्छ।'
प्रधानमन्त्रीले गाडी चढ्न थालेपछि २० प्रतिशतले बिक्री बढेको हुलास मोटर्सको दाबी छ। गाडी बिक्न छोडेपछि वित्तिय टाट पल्टिने अवस्थामा रहेको विराटनगर रानीस्थित हुलास मोटर्सको कम्पनीमा भने अहिले गाडी चढ्नेहरुको भीड बढेको छ। ‘सभासद्, सरकारी अधिकारी र गाडी चढिरहेकाहरुको अहिले कारखानामा दिनहुँ भिड लाग्छ,' बजँगाईले भने,‘धेरैले त अर्डर समेत गर्छन्।'गोल्छा अर्गनाइजेसनका सञ्चालकहरुले पनि मुस्ताङ गाडी नै चढ्ने भएका छन्। हुलास मोटर्सले गोल्छा अर्गनाइजेशनका आठ जना सञ्चालकका लागि छुट्टाछुट्टै गाडी बनाइरहेको छ। विदेशीमा निर्मित करोडौ रुपेयाँ पर्ने सुविधायुक्त गाडी चढिरहेका गोल्छा अर्गनाइजेशनका सञ्चालकहरु केही महिनापछि नै आफ्नै कम्पनीको गाडीमा गुडनेछन्।

No comments: