News

Oct 19, 2011

प्रधानमन्त्रीद्वारा रक्षा र भूमिसुधार मन्त्री हटाएको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २ - प्रधानमन्त्री बाबुराम भट्टराईले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभू साहलाई पदमुक्त गरेको घोषणा गरेका छन् । दुई मन्त्रीलाई हटाउन माग गदै प्रतिपक्षी दलले एक सातादेखि संसद् बैठक अबरुद्ध गरेपछि प्रधानमन्त्री बुधबार संसद् बैठकमा उपस्थित भएका थिए । उनले दुवै मन्त्रीलाई सम्बन्धित दलको सिफारिसमा हटाएका जानकारी गराए । 'दुवै मन्त्रीलाई हटाएको म राष्ट्रपतिसहित सम्मानित सदनलाई जानकारी गराउँछु,' उनले भने । भण्डारीमाथि मुलुक विघण्डन गर्ने अभिव्यक्ति दिएको र साहमाथि बीरगन्जमा विश्व हिन्दू यूवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या आरोप थियो । साहले यसअघि नै राजीनामा दिइसकेका छन् भने भण्डारीलाई उनको दल फोरम लोकतान्त्रिकले फिर्ता बोलाउने निर्णय गरे पनि उनले राजीनामा दिएका छैनन् । प्रधानमन्त्री भट्टराईले सरकारले बृहत् शान्ति सम्झौताविपरीत कसैको पनि मुद्धा फिर्ता नलिने प्रतिबद्धता जनाए । सभासद् बालकृष्ण ढुंगेलको मुद्धा फिर्ता लिने तयारी गरेकोमा विपक्षीले प्रधानमन्त्रीको धारणा मागेका थिए । प्रधानमन्त्री भट्टराईले बिहीबारदेखि सुरु हुने भारत भ्रमणमा कुनै पनि दीर्घकालीन महत्त्व राख्ने सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले भने, 'राष्ट्रिय सहमतिबिना हामी कुनै पनि सम्झौता गर्नेछैनौं ।' प्रधानमन्त्री भट्टराईले राष्ट्रिय मुद्धा ओझेलमा पार्नेगरी सदन अबरुद्ध नगर्न विपक्षी दललाई आग्रह गरे ।बुधबार दिउँसो १ बजे बोलाइएको संसद बैठक प्रधानमन्त्रीले केही समय पर्खन आग्रह गरेपछि दिउँसो सवा ४ बजेमात्र सुरु भएको थियो । रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा प्रकरणले यसअघिका ४ संसद् बैठक अवरुद्ध भएको थियो ।

No comments: