News

Oct 9, 2011

पहिलो दक्षिण एसियाली बिच साग सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २२,प्रथम दक्षिण एशियाली बिच खेलकुद (बिच साग) श्रीलंकाको दक्षिणी शहर हाम्बान्टोटामा शनिबार सुरु भएको छ। श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजापाक्षेले भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरे। राजापाक्षेले दक्षिण एसियाका कतिपय मुलुकमा समुद्री तट नभएपनि त्यसको प्रत्यक्ष अनुभव बटुल्नकालागि पहिलो बिच साग सहायक सिद्ध हुने जनाउँदै भाइचारा र आपसी सम्बन्ध बिस्तारमा यस्ता खालका प्रतियोगिताले सकारात्मक भूमिका निर्वाह गर्ने बताए। राजापाक्षेले औपचारिक रुपमा प्रतियोगिताको उद्घाटन गरेको घोषणासंगै भव्य आतीशबाजी गरिएको थियो। मानवीय क्षतिसहितको सुनामीबाट भर्खरै उत्रदैं गरेको हाम्बान्टोटालाई नै प्रतियोगिताको आयोजक चुनेर श्रीलंकाको सम्बृद्धि प्रदर्शनसंगै दक्षिण एशियाली राष्ट्रहरुको शक्ति प्रदर्शनको रुपमा प्रतियोगितालाई लिएको श्रीलंकाली खेलकुद मन्त्री महिन्दनान्द अल्तुतगामगेले बताए।
हाम्बान्टोटाको समुद्री तटमा आयोजित उद्घाटन कार्यक्रममा संगीत र प्रकाशको मनमोहक समिश्रण गरिएको थियो। विभिन्न राष्ट्रका झाकी समेत प्रस्तुत गरिएको उद्घाटन कार्यक्रम दौरान भएको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा ह्यान्डबल खेलाडी सन्देशकुमार रेग्मीले बोकेका थिए। प्रतियोगितामा नेपालबाट ६ खेलमा सहभागी हुन ३६ खेलाडी श्रीलंका आइपुगेका छन्। नेपालले ह्याण्डबल, फुटवल, बास्केटबल, कबड्डी, इक्वेस्ट्रेनअर्न्तत टेन्ट पेकिङ र भलिबलमा भाग लिएको छ। प्रतियोगितामा सबैभन्दा बढी आयोजक राष्ट्र श्रीलंकाबाट १ सय १०, भारतबाट ९० र पाकिस्तानबाट ५६ गरी ४ सय बढी खेलाडी सहभागी छन्। सबैभन्दा कम अफगानिस्तानबाट ८ खेलाडीको सहभागिता छ। अफगानिस्तानले भलिबल र ह्याण्डबलमा मात्र सहभागिता जनाउदैछ। मनमोहक उदघाट्न समारोहमा झन्डै १० हजार दर्शकको सहभागिता थियो।

No comments: