News

Oct 12, 2011

अध्यक्ष दाहालको प्रस्ताव वैद्यद्वारा अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २५ - राष्ट्रिय भेला स्थगित गरी एउटै प्रशिक्षण कार्यक्रम गर्न अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्ताव उपाध्यक्ष मोहन वैद्यले अस्वीकार गरेका छन् । उनले संस्थापन पक्षले तय गरेको प्रशिक्षण स्थगित गरी केन्द्रीय समिति बैठक बोलाएमात्र आफूले बोलाएको भेला स्थगित गर्न सकिने अडान राखेका हुन् । दाहालले पार्टी विवाद मिलाउन वैद्य र महासचिव रामबहादुर थापालाई आफ्नो निवास नयाँबजारमा बोलाई भेला स्थगित गरी एउटै प्रशिक्षण कार्यक्रम असोज २९ गतेबाट सारेर ३० गते गर्न प्रस्ताव गरे पनि कुरा मिल्न सकेन । वैद्यले दाहालसँगको छलफल पछि संस्थापनको प्रशिक्षण स्थगित गरी केन्द्रीय समिति बोलाउन आग्रह गरेको जानकारी दिए । 'हामीले प्रशिक्षण स्थगित गरी केन्द्रीय समिति बोलाउन अध्यक्षलाई आग्रह गर्‍यौं,' वैद्यले भने, 'हामीले पनि भेला स्थगित गर्छौं, कुरा मिलाएर जाऔं भन्यौं ।' यसबारेमा दाहालले निकट नेतासँग कुरा गरी निर्णय गर्ने बताएको उनले जानकारी दिए । 'अध्यक्षले प्रशिक्षण स्थगित गरी केन्द्रीय समिति बोलाउने विषयमा सोच्छु भन्नुभयो,' उनले भने । दाहाल निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले एउटै कार्यक्रम गरी आ-आफ्ना धारणा राख्ने अध्यक्षको प्रस्ताव वैद्यले अस्वीकार गरेको जानकारी दिए । 'एउटै कार्यक्रम गरौं, आफ्ना विचार त्यसमै राखौं भन्ने प्रस्ताव अध्यक्षले गर्नुभयो,' उनले जानकारी दिए, 'किरणजीहरूले मान्नु भएन । त्यसपछि टुंगो लागेन ।'संस्थापन पक्षले केन्द्रीय समिति बैठक स्थगित गरी राज्य समिति सदस्य सहभागी हुने गरी राष्ट्रिय प्रशिक्षण राजधानीमा बोलाएपछि वैद्य पक्षले पनि समानान्तर भेला बोलाएको थियो । त्यसपछि दुवै पक्षबीच संवाद बन्द भई पार्टी फुटाउन लागेको आरोप प्रत्यारोप चलेपछि दाहालले वैद्य पक्षलाई बोलाएर सहमतिको प्रयास थालेका हुन् । दुबै पक्षले एक दिनको फरकमा समानान्तर भेला बोलाएपछि माओवादी फुटतिर उन्मुख भएको अड्कल भइरहेका बेला दाहाल र वैद्यबीच पहिलो पटक कुराकानी भएको हो ।

No comments: