News

Oct 31, 2011

इजरायलमा सुमित्रा पौडेलको ममताको आँचल विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन २०११ अक्टोबर २९ तारिखका दिन अनेसास इजरायल च्याप्टरको आयोजनामा इजरायलको तेलअभिव शहर स्थित माल्का वेवीकेयरको हलमा १०२औँ देवकोटा जयन्ती तथा इजरायली भूमिमा रहेर नेपाली साहित्य लेखनमा लागिरहनु भएकी सक्रिय साहित्यानुरागी तथा अनेसास इजरायल च्याप्टरकी कार्यकारी सदस्य श्रीमति सुमित्रा पौडेलको दोश्रो कृति गिती कवितासङ्ग्रह “ममताको आँचल” अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापा, अनेसास केन्द्रिय सचिव हरि मानन्धर, सर्जक सुमित्रा पौडेल, अनेसास इजरायल च्याप्टरकी सदस्य श्रीमति दिप्स शाहद्वारा संयुक्त रूपमा विमोचन गरियो । उक्त कार्यक्रम अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्व, अनेसास केन्द्रिय समितिका सचिव हरि मानन्धरको प्रमुख आतिथ्य तथा अनेसास इजरायल च्याप्टरका सल्लाहकार श्याम रोक्काको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम अनेसास इजरायल च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा निकै रोमाञ्चित वातावरण सिर्जना गर्दै उपस्थित सबैको अनुहारमा हाँसो भर्दै सञ्चालन गर्नुभएको थियो । नेपाली राष्ट्रिय गीत बजाएर कार्यक्रमको प्रारम्भ गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथिद्वारा लक्ष्मीप्रसाद देवकोटाको फोटोमा अवीर तथा फूलमालाले माल्यार्पण सँगै मैनबत्ति जलाईएको थियो । त्यसै गरि उपस्थित सम्पूर्ण साहित्यिक मनहरूद्वारा देवकोटालार्इ अवीर तथा फूलमाला चढाएर देवकोटाको जन्मजयन्तीको अवसरमा उहाँको साहित्यिक देनहरूलाई सम्झना गरिएको थियो ।
कार्यक्रममा लक्ष्मी भट्टराई द्वारा आगन्तुक सम्पूर्ण नेपाली साहित्यानुरागीहरूलार्इ मिठो शैलीले स्वागत गर्नुभएको थियो भने कृतिकार सुमित्रा पौलेलद्वारा कृति यहासम्म आइपुग्नुको बारेमा प्रकाश पादै अगाडि बोल्नुभयो – "मेरा परम आदरणीय बुवा तथा स्वर्गीय आमामा नमन गर्दै मलाई यो धर्तीमा जन्म दिएर उहाँहरुले दिनु भएको शिक्षा, ज्ञान र आशिर्वादबाट आज म यो स्थानसम्म आइपुग्दा म आफुलाई अत्यन्तै भाग्यशाली ठानेकी छु । मेरो आमा आज यस धर्तीमा हुनुहुन्न, उहाँ प्रति सप्रेम भक्तिभाव अर्पण गर्नु मेरो परम कर्तब्य सम्झेकि छु । मलाई जन्म दिने बुवाआमा प्रति केही गर्नु पर्छ भन्ने धेयले मेरो आमाको नाउँमा हाल ३ लाखको अक्षय कोष खडा गरि रास्ट्रिय स्तरमा ''दानकुमारी बास्तोला स्मृति प्रतिष्ठान'' स्थापना गर्न गै रहेको जानकारी समेत यस पावन अवसरमा व्यक्त गर्न चाहन्छु ! जसमा साहित्य तर्फ उत्कृष्ट एक कृतिका महिला स्रष्टा र असहाय महिला साथै बालबालिकाको लागि अतुलनीय योगदान पुर्याउने महिला तथा पुरुषलाई अझ बढी हौसला प्रदान गर्नाका लागि आमाको बार्षिक पुण्य तिथिमा हरेक बर्ष पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । मलाई आशा एबं बिश्वास छ यसको प्रक्रिया छिट्टै नै पुरा हुनेछ !
कार्यक्रममा कवियित्री दिप्स शाहद्वारा लक्ष्मी जयन्तीको विषय र उहाँले नेपाली साहित्यमा दिनु भएको योगदान नेपाली साहित्याकाशमा ध्रवतारा जस्तै अटल रहेको बताउनुभएको थियो । त्यसरी नै कवियित्री दिप्स शाहले इजरायलमा प्रकाशित “ममताको आँचल” नवौ कृतिको बारेमा बोल्नुहुदै सर्जक सुमित्रा पौडेलको बारेमा तथा पुस्तकको बारेमा समेत प्रकाश पार्नु भएको थियो । पुस्तकको बारेमा बोल्नुहुदै नेपाली साहित्यमा लुप्त हुदै गैरहो छन्दलाई वा प्रयोगमा नआएको छन्दलाई सर्जकले पुनः निरन्तरता दिने हिम्मत गर्नुभएकोमा धन्यवाद दिनुभयो । अगाडि बोल्नुहुदै वहाँले छन्दको प्रयोग गरेर कविता रचना गर्न अति गाह्रो भएकाले कृतिकार सुमित्रा पौडेलले यसरी छन्दबद्ध कवितासङ्ग्रह प्रकाशन गर्नु निकै ठ्लो हिम्मत र सह्रानिय काम हो भन्नुभएको थियो ।
सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि हरि मानन्धरद्वारा देवकोटाको अतुलनीय साहित्यिक योगदानलार्इ कदर गर्दै देवाकोटालाइ एकपटक हृदयदेखि धन्यवाद दिनुभयो भने इजरायलमा यसरी कृतिहरू प्रकाशन भैरहँदा इजरायलवासी नेपाली साहित्यप्रेमीहरले नेपाली साहित्याकाशमा ठूलो योगदान दिईरहेको र सुमित्रा पौडेलको प्रकाशित “ममताको आँचल” गिती कवितासङ्ग्रहले नेपाली साहित्यमा एक धरहरा बनेर सफलता पाउनेछ भन्नुभयो । यसैगरि सल्लाहकार तथा अतिथि श्याम रोक्काले यसरी साहित्यमा बढ्दो कृति प्रकाशनले इजरायली भूमिलाई साहित्यको थलो बनाएको र आफुले यस्तो पवित्र कार्यमा आफ्नो हल उपलब्ध गराउन पाउँदा निकै हर्षित भएको बताउनुभयो । उक्त अवसरमा रचनावाचनको क्रममा अतिथि श्याम रोक्काद्वारा गजल, लक्ष्मी भट्टराईद्वारा कविता, भगवती कनेलद्वारा गजल र कवियित्री दिप्स शाहद्वारा कविता वाचन गरिएको थियो । कार्यक्रमको अन्तमा अनेसास इजरायल च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णपक्षले नेपाली साहित्यमा देवकोटाले दिनुभएको योगदानले नै आज हामी साहित्यमा अगाडि बढिरहेका छौ भन्नु हुदै यसरी अनेसास इजरायल च्याप्टरले दिनानुदिन नेपाली साहित्यलाई बढवा दिने काम गरिरहेकाले इजरायलमा नेपाली साहित्यको भण्डार रहेको बताउनुभयो । अगाडी बोल्नुहुदै उहाँले देवकोटा जयन्तीको अवसरमा मुनामदनबाट प्रेरित स्रुमित्रा पौडेलद्वारा तिनै झ्याउरे लयमा संकलित कविताहरू विमोचन गर्न पाउँदाको खुशी ब्यक्त गर्नुभयो । कार्यक्रमको समापनसँगै सर्जक सुमित्रा पौडेलले आयोजना गरेको रात्रीभोजमा उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरू सरिक हुनुभएको थियो ।

No comments: