News

Oct 21, 2011

भारतसित सम्झौतामा हस्ताक्षर आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, कात्तिक ४- भारतको सद्‍भावना भ्रमणमा रहनुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराई भ्रमणको दोस्रो दिन आज विभिन्न औपचारिक कार्यक्रम सहभागी हुनेछन्। प्रधानमन्त्री भट्टराईको भारतीय राष्ट्रपति प्रतिभादेवीसिंह पाटिलसँग बिहान १० बजे राष्ट्रपति भवनमा भेट्ने कार्यक्रम छ। त्यसैगरी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग अपराह्न ४ बजे प्रधानमन्त्री डा भट्टराईको भेटवार्ता हुने कार्यक्रम छ। उहाँको प्रधानमन्त्री डा मनमोहन सिंहसँग हैदराबाद हाउसमा साँझ सवा ६ बजे भेटवार्ता हुनेछ। सो भेटका क्रममा दुई देशबीच आपसी हितका विषयहरुमा वार्ता हुने र दुबै नेताको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर हुनेछ।
आजै भारतीय प्रधानमन्त्रीले डा भट्टराईको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार विदेशीमन्त्री एसएम कृष्णा, वित्तमन्त्री प्रणव मुखर्जी र संसदमा विपक्षीदलका नेता सुषमा स्वराजसँगको भेटमा प्रधानमन्त्री भट्टराईले दुई देशबीचको सम्बन्धलाई अरु सुदृढ बनाउने विषयमा छलफल गर्नेछन्। व्यस्त कार्यतालिकाबीच प्रधानमन्त्री डा भट्टराईले भारतीय उद्योगी व्यापारीहरुसँग छलफल गर्नेछन्। भ्रमण दलमा सहभागी अर्थमन्त्री वर्षमान पुनले आज हुने वार्तामा राजनीतिलगायत दुई देशको साझा चासोका विभिन्न विषयमा छलफल हुने बताए। उनका अनुसार दोहोरो कर प्रणालीको अन्त र लगानी सुरक्षाका विषयमा दुई बेग्लाबेग्लै सम्झौता हुनेछन्। "भ्रमण आर्थिक विषयहरुमा केन्द्रित हुनेछ," मन्त्री पुनले भन्नुभयो। मध्य र सुदूरपश्चिममा एक/एक पोलिक्लिनिक स्थापना र काठमाडौँ तराई जोड्ने फास्ट ट्र्याकका लागि ७८ अर्ब नेपाली रुपैयाँ सहुलियत ऋणका लागि भारतीय पक्षसँग आग्रह गरिने जानकारी मन्त्री पुनले दिए। त्यसैगरी, हालको ५० मेगावाट विद्युत् आयातलाई बढाएर २०० मेगावाट पुर्‍याउन भारतसँग आग्रह गरिने पनि मन्त्री पुनले जानकारी दिए। भारतीय प्रधानमन्त्री डा सिंहको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री डा भट्टराई ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चारदिने भ्रमणका लागि बिहीबार नयाँदिल्ली गएका हुन्।

No comments: