News

Oct 17, 2011

प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको चर्को आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ३० - रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेससहित एमालेलगायत सवै विपक्षी दलले सोमबार पनि संसद् बैठक चल्न दिएनन् । विपक्षी सभासद्हरु आफ्नो ठाउँमा उभिएर विरोध जनाएपछि मंगलबारसम्मका लागि संसद् बैठक स्थगित भएको छ । विपक्षी दलले रक्षामन्त्री भण्डारी र निवर्तमान भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभू साहको राजीनामा माग गर्दै यसअघिका दुइटा बैठक चल्न दिएका थिएनन् ।
भूमिसुधार मन्त्री साहले राजीनामा दिए पनि मुलुक विघखण्डन गर्ने अभिव्यक्ति दिने रक्षामन्त्री कायमै रहेको भन्दै विपक्षीले संसद् चल्न नदिएका हुन् । बैठक सुरु भएलगत्तै समय लिएर बोल्ने विपक्षी सभासद्हरुले प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना गरे । एमाले सभासद् एवं पूर्वमन्त्री रघुवीर महासेठले मुलुक टुक्र्याउने अभिव्यक्ति दिने रक्षामन्त्रीलाई कारबाही नगरे प्रधानमन्त्री स्वयंले संरक्षण गरेको ठहर्ने आरोप लगाए । उनले रक्षामन्त्रीले गल्ती गरेको स्वीकार्ने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको भनाइ पनि नक्कली रहेको टिप्प्णी गरे । 'नत्र उहाँले कारबाही गर्नुपर्थ्यो,' उनले भने ।
महासेठले हत्या गरिएका विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारीको परिवारलाई पैसा दिएर मुद्दा फिर्ता लिन सल्लाह दिने भूमिसुधार मन्त्रालयका कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरे ।कांग्रेस सभासद् रमेश लेखकले प्रधानमन्त्री भट्टराईबाट जनताले राखेको आशा पनि सकिएको उल्लेख गरे । उनले भट्टराईकै कार्यकालमा दण्डहीनता मौलाएकोसमेत आरोप लगाए । 'मिडियाले बाबुरामजीलाई दन्त्येकथा राजकुमार नै बनाएका थिए,' उनले भने, 'तर अब उहाँ दैंत्यकथाको नायकरुपमा नआउनुहोस् ।' लेखकले मुलुकको स्वाधिनाविरोधी काम गर्ने रक्षामन्त्रीलाई राज्यद्रोह लगाएर कारबाही गर्नुपर्ने बताए ।कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले एउटा सामान्य नागरिकले राष्ट्रिय स्वाधिनताको विषयमा विचार पुर्‍याएर बोल्नुपर्ने अवस्थामा रक्षामन्त्रीले ख्यालै नगरेको टिप्पणी गरे । उनले लगातार सदन अबरुद्ध भइरहँदा पनि प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आपत्ति जनाए ।'प्रतिपक्षीले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमा आएर संवोधन गर्ने कि नगर्ने ?,' उनले प्रधानमन्त्रीको जवाफ माग गर्दै भने, 'प्रधानमन्त्रीले आफूले बोलेर पूरा नगरेका विषयमा सदन जानकारी गराउन माग गर्छ ।' उनले रक्षामन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने स्पष्ट पारे ।

No comments: