News

Oct 19, 2011

यस्तो छ प्रधानमन्त्री भट्टराईको भ्रमण कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली, कार्तिक २ - प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीवार शुरु हुने चारदिने औपचारिक भ्रमणको कार्यक्रम अनुसार, उनका महत्वपूर्ण राजनीतिक भेटघाटहरु भोलिपल्ट (शुक्रवार) हुनेछन् । प्रधानमन्त्री भट्टराईको भारतीय समकक्षी मनमोहन सिंहसँग शुक्रबार हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । त्यसपछि दुई देशका टोलीबीच छलफल भई केही सम्झौतामा हस्ताक्षर हुनेछ ।
भारतले प्रदान गर्ने सहुलियत दरको ऋणसम्बन्धी सम्झौता तथा दुई देशमा लगानी गर्दा दोहोरो कर नलाग्ने व्यवस्थासहितको सम्झौतामा हस्ताक्षर हुने सम्भावना यहांस्थित नेपाली अधिकारीहरुले व्यक्त गरेपनि चर्चामा रहेको उर्जा व्यापार सम्झौता लगायतका विषयबारे भने प्रष्ट पारेका छैनन् ।नेपाली प्रधानमन्त्रीको सम्मानमा शुक्रबारै हैदरावाद हाउसमा रात्रीभोज आयोजना गरिनेछ । भारतीय प्रधानमन्त्रीसँग भेट्नुअघि दिनभर भट्टराई अन्य उच्चस्तरीय भेटघाटमा व्यस्त रहनेछन् । राष्ट्रपति प्रतिभा पाटिल, उपराष्ट्रपति हमीद अन्सारी, सत्तारुढ युनाईटेड प्रोगेसिभ एलायन्स् -युपीए) की अध्यक्ष सोनिया गान्धी, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा, लोकसभामा विपक्षी दलकी नेत्तृ सुष्मा स्वराज र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नीतिन गड्करीले भट्टराईसंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । त्यसअघि बिहान भट्टराईले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी माल्यार्पण गर्नेछन् ।
शुक्रवारै उनी भारतीय व्यवसायीका संगठनहरु कन्फेडरेशन अफ इण्डियन इन्डष्ट्री, फेडरेशन अफ इण्डियन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र एशोसिएटेड च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीले संयुक्त आयोजना गरेको छलफलमा सहभागी हुनेछन् ।भ्रमणको पहिलो दिन बिहीवार भने भट्टराई भारतीय तथा नेपाली सञ्चारमाध्यमका प्रतिनिधि, नागरिक समाज र नेपालमा लोकतन्त्रको सुदृढीकरणका लागि काम गरिरहेका भारतीय संगठनहरुको कार्यक्रममा सहभागी हुनेछन् ।अपरान्ह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि उनी चाणक्यपुरीस्थित होटल लीला प्यालेस जानेछन् । प्रधानमन्त्रीका लागि बसोवासको व्यवस्था गरिएको उक्त होटलमै भारतीय र नेपाली सञ्चारमाध्यमका प्रतिनिधिसंग अन्तरक्रिर्या गरिनेछ । त्यसै दिन भट्टराई नागरिक समाजका तर्फबाट साउथ एसिया फोरम फर पिपल्स् इनिसिएटिभ र नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीले गरेका छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनेछन् । पर्सिपल्ट शनिवार पनि थप भेटघाटमा भट्टराई व्यस्त हुनेछन् । गृहमन्त्री पी चिदम्बरम, रक्षामन्त्री एके एन्टोनी तथा भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुसंग उनको भेट हुनेछ । आफूले विद्यावारिधि उपाधि लिएको जवाहरलाल नेहरु विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा पनि भट्टराई सरिक हुनेछन् ।जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले आफ्नो निवासमा भट्टराईको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनी सहभागी हुनेछन् । उक्त कार्यक्रममा भारतका विभिन्न दलका नेताहरु सहभागी हुने यादवका सहयोगीहरुले बताएका छन् । नेपाली दूतावासले त्यसै दिन प्रधानमन्त्रीको सम्मानमा 'रिसेप्सन' को आयोजना गरेको छ । शनिवार बिहान पनि भारतीय व्यवसायीका संगठनहरु कन्फेडरेशन अफ इण्डियन इन्डष्ट्री र फेडरेशन अफ इण्डियन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका प्रतिनिधिहरुले प्रधानमन्त्रीसंग भेट गर्नेछन् ।
भ्रमणको अन्तिम दिन आइतवार प्रधानमन्त्री बिहानै दिल्लीको पालमस्थित एयर फोर्स स्टेशन अवलोकनका लागि पुग्नेछन् । त्यसपछि विशेष विमानमार्फत उत्तराखण्ड राज्यको राजधानी देहरादून पुग्नेछन् । देहरादूनबाट हरिद्वार पुगी उनले त्यहांस्थित स्टेट इन्ड्ष्ट्रियल डेभलपमेन्ट कर्पोरेशन (सिडकुल) अन्तर्गतको विशेष आर्थिक क्षेत्रको अवलोकन गर्नेछन् ।देहरादूनमा उत्तराखण्डकी गभर्नर मार्गरेट आल्भासंग भेटेपछि भट्टराई नयांदिल्ली बिमानस्थलमा उत्रिएर त्यहींबाट सोझै स्वदेश र्फकनेछन् ।

No comments: