News

Oct 14, 2011

मन्त्री साह र भण्डारीलाई हटाउन एमालेको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २७ - एमालेले हत्याको अभियोग लागेका भूमिसुधार मन्त्री प्रभु साह र देश टुक्रिन सक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री शरदसिंह भण्डारीलाई तत्काल वर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । माओवादी नेताहरुसंग शुक्रबार भएको बैठकमा एमालेले दुई मन्त्रीलाई वर्खास्त गर्न प्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराएको हो । बैठकमा शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएपनि कुनै ठोस निष्कर्ष भने आएन । माओवादी उपाध्यक्ष एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बैठकमा ठोस निष्कर्ष ननिस्केको बताए । उनले १,२ दिन भित्रै कांग्रेस सहित तीन दलको बैठक बसेर शान्ति प्रक्रिया टुंग्याउने गरी सहमति खोज्न छलफल भएको जानकारी दिए । एमाले नेता भीम रावलले दुई पक्षीय र त्रिपक्षीय बैठक गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन छलफल गर्ने सहमति भएको जनाए । उनले दुईमन्त्रीलाई वर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । प्रत्युत्तरमा प्रधानमन्त्री भट्टराईले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको भन्दै संसदमा उठेका विषयमा सरकारले सकारात्मक सम्बोधन गर्ने बताएको रावलले जानकारी दिए । दुई मन्त्रीको राजीनामा माग गर्दै एमाले र कांग्रेसले बिहीबार व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको थियो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा दुवै दलका शीर्ष नेताहरु सहभागी थिए ।

No comments: