News

Oct 25, 2011

ज्याकी चेन, शाहरुख र रेखाले लुम्बिनी प्रवर्द्धन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ पर्यटन वर्ष सकिए लगत्तै सुरु हुने लुम्बिनी भ्रमण वर्ष २०१२ लाई हलिउड अभिनेता ज्याकी चेनसँग भारतका शाहरुख खान र रेखाले प्रवर्द्धनमा सघाउने भएका छन् । भ्रमण वर्षबारे आयोजित कार्यक्रममा संस्कृतिमन्त्री गोपाल किराँतीले उक्त जानकारी दिएका हुन् । 'ज्याकी चेनसँगै चीनका अर्का कलाकार जु दङ्यु पनि नेपाल प्रवर्द्धन गर्न सहमत भएका छन्,' मन्त्री किराँतीले भने, 'शाहरुख र रेखासँग भने मौखिक सहमति भएको हो ।' ज्याकी र जुसँग प्रवर्द्धनबारे लिखित सम्झौता नै भइसकेको दाबी मन्त्री किराँतीको छ । 'शाहरुख र रेखा कार्यक्रमका लागि तेस्रो मुलुक गएकाले फर्किनासाथ लिखित रूपमा सहमति हुने छ,' उनले भने । यी विश्वप्रसिद्ध कलाकारले प्रवर्द्धन गर्नेबारे संस्कृति मन्त्रालयले पठाएको प्रस्ताव असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । 'लुम्बनी भ्रमण वर्षको प्रस्तावसँगै प्रवर्द्धनको टुंगो पनि लागेको हो,' मन्त्री किराँतीले भने । पर्यटन क्षेत्रका लागि लुम्बिनीको महत्त्व निकै भए पनि त्यसअनुसार पर्यटक भित्र्याउन कुनै पहल नभएकाले २०१२ लाई अभियानका रूपमा लिनुपरेको किराँतीले बताए ।
महत्त्वाकांक्षी लक्ष्य बोकेर सरकारले घोषणा गरेको पर्यटन वर्ष २०११ मा समेत सगरमाथा आरोही लगायत प्रख्यात व्यक्तित्वलाई सद्भावना दूत घोषणा गरी प्रवर्द्धनको जिम्मेवारी दिइएको थियो । तर यसको कुनै प्रतिफल आएन । 'फेरि यस्तो हुने छैन,' मन्त्री किराँतीले भने, 'प्रवर्द्धनका लागि हामी कलाकारलाई धेरै जिम्मेवार बनाउने छौं ।' प्रवर्द्धनको जिम्मेवारी पाएका कलाकारहरू वर्षको तीन पटक नेपाल आई विभिन्न कार्यक्रममा सहभागी हुने पनि उनले बताए । कलाकारिताको क्षेत्रलाई माध्यम बनाई पर्यटक नेपालतर्फ आकषिर्त गर्ने सोच सरकारको छ । 'यो अभियानलाई विश्वव्यापी बनाउन छिमेकी मुलुकका चर्चित कलाकारको सहयोग लिन खोजेका हौं,' उनले भने । यो सहयोगका लागि चुनिएका कलाकारले 'भोलेन्टियर' का रूपमा कुनै पारिश्रमिक नलिई सघाउने प्रतिबद्धता समेत जनाएको राष्ट्रिय सचिवालयले जनाएको छ । सोमबार किराँतीको संयोजकत्वमा १ सय ८ सदस्यीय मूल आयोजक समिति र भ्रमण वर्षको कार्यक्रम सञ्चालन गर्न १३ सदस्यीय राष्ट्रिय सचिवालय गठन भएको छ ।
सरकारले लुम्बिनी भ्रमर्ण वर्षको शुभारम्भ र पर्यटन वर्षको समापन एकैसाथ २०१२ जनवरीमा लुम्बिनीमै गर्ने भएको छ । गौतम बुद्धको जन्मस्थल नेपालबारे विश्व समुदायलाई जानकारी गराउने र आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ सरकारले भ्रमण वर्षको घोषणा गरेको हो । यो अभियान मनाउन संस्कृति मन्त्रालयको बजेटबाट केही प्रतिशत खर्च गरिने र अन्य रकम आर्थिक कार्ययोजना तयार गरी सरकारसँग माग गर्ने किराँतीले बताए । २०६५/६६ मा बाह्य र आन्तरिक गरी ९६ हजार पर्यटकले लुम्बिनी घुमेको तथ्यांक संस्कृति मन्त्रालयसँग छ । यो संख्या २०६७/६८ सम्म आइपुग्दा ५ लाख १५ हजार पुगेको लुम्बिनी सचिवालय सदस्य राजेन्द्र थापा मगरले जानकारी दिए । यो संख्यामा साढे चार लाख नेपाली मात्र र ६५ हजार विदेशी पाहुना छन् । 'आन्तरिक सहित कुल १० लाख पर्यटक लुम्बिनी पुगून् भन्ने लक्ष्य छ,' मगरले भने । लुम्बिनी क्षेत्र विकास कोषमा समेत रहेका मगरका अनुसार सरकारले लुम्बिनीका लागि घोषणा गरेको अभियानसँगै त्यस क्षेत्रका व्यवसायीहरू होटलमा लगानी थप गर्न उत्साहित भएका छन् । हाल लुम्बिनी क्षेत्रभित्र ५ अन्तर्राष्ट्रिय स्तरका होटल छन् ।

No comments: