News

Oct 19, 2011

कम्प्युटर पड्किएर प्रहरी हबल्दारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, कार्तिक २ - चलाइराखेको कम्प्युटरको मोनिटर पड्केर मंगलबार सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी हबल्दार केदार काफ्लेको मृत्यु भएको हो भने सहायक निरीक्षक राम लामा घाइते भएका हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षक यादव विश्वकर्माका अनुसार बिहान १० बजेर ५ मिनेटमा हबल्दार काफ्लेले कार्यालयको कार्य प्रयोजनका लागि कम्प्युटर चलाउँदा अचानक पड्केको थियो । दुवैलाई तत्काल उपचारका लागि नेसनल मेडिकल कलेजमा भर्ना गरिएकामा काफ्लेको उपचार क्रममा मृत्यु भएको हो । उनको अनुहारमा बढी चोट लागेको थियो । कोठामै बसेर पत्रिका पढ्दै गरेका प्रसनि लामाको बायाँ खुट्टामा चोट लागेको छ । उनी खतरामुक्त छन् । विस्फोटबाट कोठामा रहेका विद्युत् तार पनि नष्ट भएका छन् । अत्यधिक विद्युत् प्रवाह भई मोनिटर पड्केको हुन सक्ने अनुमान गरिएको छ । कम्प्युटर इन्जिनियर बाबुराम दवाडी सीआरटी मोनिटरले बढी भोल्टेज विद्युत्बाट काम गर्ने भएकाले अत्यधिक विद्युत् प्रवाहले पड्कने सम्भावना कम रहने बताए । मोनिटरभित्रको सिस्टममा खराबी आउँदा पड्कने सम्भावना बढी हुने उनले बताए । 'सीआरटी मोनिटर इलेक्ट्रोम्याग्नेटिक प्रणालीबाट सञ्चालित हुन्छ,' उनले भने, 'अत्यधिक विद्युत् प्रवाह गरी इलेक्ट्रोनलाई तताएर यो मोनिटर चल्छ, यसको सिस्टम उच्च भोल्टेजमा सञ्चालन हुन्छ ।' कम्पनीहरूले इलेक्ट्रोन हुने भएकाले मोनिटरलाई धेरै सुरक्षित बनाउने गर्छन् । मोनिटर उत्पादन गर्ने कम्पनीको ब्रान्डमा पनि यो निर्भर हुने उनले बताए ।
पछिल्लो समयमा आएको एलसीडी मोनिटर सीआरटीभन्दा बढी सुरक्षित हुने उनले बताए । एलसीडीमा इलेक्ट्रोम्याग्नेटिक सिस्टम हुँदैन ।

No comments: