News

Oct 9, 2011

सरकारमा सामेल नहुने कङ्ग्रेस सभापतिको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, असोज २२- कङ्ग्रेस सभापति सुशील कोइरालाले अहिलेकै अवस्थामा आफनो दल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सामेल नहुने बताएका छन्। नेतृ सुजाता कोइरालाले कङ्ग्रेस वर्तमान सरकारमा सामेल हुनुपर्ने धारणा राखेकै भोलिपल्ट सभापतिले उनको भनाई व्यक्तिगत भएको बताए। उनले शान्ति प्रक्रियाप्रति माओवादीलाई अझै विश्वास गर्न सकिने अवस्था नदेखिएका कारण सरकारमा सामेल नहुने बताए।
आइतबार नेपालगन्जमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सकिने आधार तयार भएमात्र कङ्ग्रेस सरकारमा सामेल हुने बताए। 'मौखिकरुपमा पहिलाको तुलनामा माओवादीका नेताको भनाई सकारात्मक छ', उनले भने- माओवादीको बोलाईअनुसार काम भएमात्र विश्वास गर्न सकिन्छ। उनले माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता गर्नुपर्ने, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग गर्नुपर्ने माग पनि कङ्ग्रेससँग गरे।
माओवादी लडाकु समायोजनबारे सोधिएको प्रश्नमा कोइरालाले बढीमा चार हजारलाई सेनामा समायोजन गर्न सकिने बताए। माओवादीका नेताले समायोजन नहुने लडाकुलाई पुनर्स्थापनाका लागि दिने भनिएको ७–१० लाख रुपियाँ बढी भएको उनको भनाइ छ। प्रधान मन्त्रीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन कङ्ग्रेस, एमालेले सहयोग नगरेको गुनासो गरिरहेको बेला कोइरालाले सरकारलाई कहाँनेर असहयोग भयो देखाउन चुनौती दिए। शान्ति प्रक्रिया सफल बनाउन असहयोग गरेकाले कङ्ग्रेसको अस्तित्व सङ्कटमा परेको भनी आएको प्रधान मन्त्रीको अभिव्यक्तिलाई कोइरालाले 'गैरजिम्मेवार' भनी टिप्पणी गरे। शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन माओवादी नै यतिखेरको बाधक भएको उनको भनाई छ। यदि प्रधान मन्त्रीले चाहने हो भने यही सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सक्ने दाबी पनि उनले गरे।

No comments: