News

Oct 26, 2008

दोस्रो ठूलो चाड तिहार आज आइतबारदेखि सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आज आइतबारदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन काग,
दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाइ र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी सम्पन्न हुन्छ ।पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगित गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पूजिएका यमराजले वस्त्र, आभूषण दिएर भातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ । हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ । कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ । यो दिन कागको पूज् नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ ।सिनो तथा अन्य खाद्यपदार्थमा विषादी र रासायनिक पदार्थको प्रयोगका कारण वर्षदिनको एकपटक पूजिने काग तथा अन्य पक्षीको सङ्ख्या घट्दै गएको पक्षीविज्ञहरू बताउँछन् । लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवायुवतीहरू घरघरमा गई खेलिने देउसी-भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ । यतिबेला घरआँगन र खेतबारीका आली-कान्लामा ढकमक्क फूलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय बन्दछ । यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूज् गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।वैदिक कालमा बलि राजाले आफ्नो राज्यभर झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ ।नेवारी भाषामा 'स्वन्ती नख' भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हर्टाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ ।लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झयाल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ । यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्ह पूजा अर्थात आत्मपूजा गर्ने प्रचलन छ ।

No comments: