News

Oct 28, 2008

साठी हजार वृद्धवृद्धा उपचारका लागि बेलायत जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गरिबीको कारण नभई तत्कालीन राणाशासक र अङ्ग्रेजले सोझा जनजातिलाई प्रयोग गरी आफ्नो स्वार्थ पूरा गर्न ब्रिटिस गोर्खा सैनिकको अवधारणा ल्याएको बताइएको छ । ब्रिटिस गोर्खा भूपू सैनिक सङ्घद्वारा वुटबलमा आयोजित जानकारी सभामा सहभागी वक्ताहरूले राणाशासकले सत्ता टिकाइराख्न र बेलायतले आफ्नो साम्राज्य बिस्तार गर्न सिन्किको मूल्यमा सोझा जनजाति नेपालीको खरिद बिक्रीको थालनी गरिएको दाबी गर्नुभयो ।नेपालको जनसङ्ख्या ३० लाखको हाराहारीमा हुँदा दुइ लाख ५५ हजार जनासम्म नेपालीलाई ब्रिटिस गोर्खामा भर्ना गरी ठूलठूला युद्धमा पठाएको चर्चा गर्दै वक्ताहरूले बेलायतको काम सकिएपछि एक्कासि भर्नामा कटौती हुनुले त्यस कुरालाई पुष्टि गरेको छ भन्नुभयो ।बेलायतका लागि धेरै नेपालीले गोर्खा सैनिकमा रहेर बलिदान दिए पनि सेवा, सुविधा र अवसरमा लामो समयसम्म विभेद गरिएपछि अन्यायका विरुद्ध कानुनी तवरले अगाडि बढ्नुपर्ने बाध्यतामा परेको उनीहरूले बताउनुभयो । बेलायती जनता र न्यायालय गोर्खाको पक्षमा रहेकाले कानुनी लडाइँमा भने गोर्खालाई ठूलो सफलता हात लागेको उहाँहरूले उल्लेख गर्नुभयो ।बेलायती उच्चन्यायालयको गत असोज १४ गतेको फैसलाले विगत २०० वर्षेखि दासका रूपमा काम गर्दै आएका गोर्खा सैनिकलाई बेलायती राष्ट्रसेवकसरह मात्र सेवा/सुविधा प्रदान गरेन बरु लाखौ गोर्खाका रोइ बसेका पीडितलाई विभिन्न अवसर प्रदान गरेको छ उहाँहरूले उत्साहका साथ भन्नुभयो ।मुखमा सरस्वतीको बास भएर होला, अन्यायमा परेका भूपू सैनिकको पक्षमा उच्च न्यायालयका न्यायाधीशको बोली खुलेको छ, उहाँलाई नेपाली जनताले युगौयुगसम्म श्रद्धापूर्वक सम्झने छन् गेसोका अध्यक्ष पद्मबहादुर गुरुङले भन्नुभयो । न्यायालयको उक्त फैसलाले गोर्खाको मात्र विजय भएको होइन, सारा नेपालीको जीत भएको छ, अङ्ग्रेजसामू सधैं आफूलाई दास सम्झने सरकारका लागि पनि फैसलाले पाठ सिकाएको उहांको भनाइ छ ।"काम छउन्जेल भाँडो- काम सकिएपछि ठाँडो" भन्ने उखानजस्तै उमेर र बल रहुन्जेल युद्धमा पठाउने अनि त्यही युद्धमा घाइते भएकाको घाउ नसुक्दै नेपाल लखेट्नु अङ्ग्रेजको मानवताविरोधी कार्य थियो भनी भूपू सबैले बेलायती सरकारको आलोचना गरे । बेलायतको पक्षमा युद्ध लड्दा ६० हजारभन्दा बढी गोर्खा मारिएका थिए ।आफ्नो पक्षमा त्यत्रो बलिदान गर्ने गोर्खाप्रति विभेदकारी नीति अवलम्बन गर्ने र आफैँले विश्वप्रसिद्ध भिक्टोरिया क्रसको सम्मान दिएको आफ्नो सिपाहीलाई समेत मुलुकमा छिर्न नदिएकाले त्यहाँको अदालतले बेलायत सरकारलाई हराइ ब्रिटिस गोर्खाको पक्षमा विजयपत्र सुनाएको हो, एक भूपू सैनिकले भने । हामीलाई सात समुद्रपारि गएर मुद्दा लड्न सजिलो थिएन, नेपाल सरकारले पनि हाम्रो पक्षमा बोलेन, हामी अन्यायमा परेको कुरा बेलायती जनता र त्यहाँका वकिललाई बुझाउन सकिएमा सफलता हात लाग्छ भन्ने हाम्रो आत्मविश्वास र ठम्याइले काम गर्‍यो, हामी अगाडि बढयौ सफलता हात लाग्यो, उहाँहरूले उत्साहित हुँदै खुसीयाली साट्नुभयो ।सो फैसलाले गोर्खाको पक्षमा मात्र काम गरेन उल्टै बेलायती संसदलाई यस्ता महत्वपूर्ण दुइ देशबीचको सम्बन्धमा प्रभाव पार्ने संरचना चलाउने विषयमा एउटा व्यक्तिको सिफारिसमा नियम बनाउने होइन, कानुन बनाई त्यसका आधारमा काम गर्न संसदलाई समेत निर्देशन दिनुले ब्रिटिस गोर्खाको थप मूल्याङ्कन हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङको भनाइ रहेको छ ।बेलायतको संसदीय प्रणाली र कानुनी राज्यका बारेमा कसैले प्रश्न उठाउन नसकेको अवस्थामा प्रजातान्त्रिक संस्कारका विरुद्ध भएका काम कारबाहीबारे नेपालीको आवाजले विजय पाउनु सामान्य विषय होइन, उहाँले भन्नुभयो । त्यो फैसलाको समाचार विश्व प्रसिद्ध समाचार संस्थाले उच्च प्राथमिकतामा राखेर प्रसारण गर्नुले गोर्खाको न्यायिक बहादुरी एकपटक फेरि विश्वले प्रशंसा गर्न पाएको छ, उहाँहरूले भन्नुभयो । उक्त फैसलापछि ब्रिटिस गोर्खा र भूपूले गोरासरह सेवा, सुविधा र पेन्सन पाउने छन् ।यस्तै, करिब ६० हजार वृद्धवृद्धा र अपाङ्ग गोर्खा सैनिक र परिवारलाई मासिक ७०० पाउन्ड भत्ता, ५ सय पाउन्ड आवास सुविधा, भूपूका श्रीमती वा हेरचाह गर्ने ब्यक्तिलाई २५० पाउन्ड भत्ता, बेलायतको सुविधा सम्पन्न अस्पतालमा परिवार समेतलाई निशुल्क उपचारलगायतका सुविधा दिलाउने कार्यमा उक्त फैसला कोशेढुङ्गा सावित भएको छ । अब मुलुकका कुनाकुनामा रहेका भूपू गोर्खाका ६० हजारभन्दा बढीको सङ्ख्यामा रहेका आमाबुबालाई डोकामा बोकाएर काठमाडौ ल्याई उपचारका लागि बेलायत पठाउने कार्यलाई तीव्रता दिइने उनीहरूको भनाइ रहेको छ । बाह्र वर्षपछि खोला फर्कन्छ भन्ने नेपाली उखान चरितार्थ भएको छ, सधैं नेपालीले जुत्ता र मोजा धोइदिएर सलाम गर्ने गर्दै आएका गोर्खा सैनिकको अस्पताल पुगेका आमाबाबुको सेवा गर्न बाध्य भएका छन् । लडाइँमा मारिएका गोर्खाका आत्मा कांचो वायु भएका थिए, मुद्दा जितेपछि हजारौँ पितृ स्वर्ग तरेका छन्, हामीले गोर्खालीहरू साम्राज्यवादीका दास वा नोकर हैनौँ, इमानदार राष्ट्रसेवक हौँ भन्ने प्रमाणित गर्यौ भूपू गोर्खा सैनिक फानसिंह थापा भन्छन् ।
-रासस/आलेखसेवा

No comments: