News

Oct 30, 2008

दीघार्युको कामनाका साथ टीका लगाइ भाइटीका मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दुको महान् चाड तिहारको अन्तिम दिन आज बिहीबार परम्पराअनुसार दिदीबहिनीबाट आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीघार्युको कामनाका साथ
टीका लगाइ भाइटीका मनाइँदैछ । भाइटीकाका लागि बिहान ११ बजेर ४५ मिनटदेखि ११ बजेर ५५ मिनटेसम्मको समय उत्तम रहेको नेपाल ज्योतिष परिषद्ले जनाएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधिअनुसार मण्डप बनाइ अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला लगाइदिएर चिरायुको कामना गर्छन् ।सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारका खानेकुरा खुवाएकाले खुसी भई बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाउन् भनी यमराजले वरदान दिएकाले त्यसै बेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका गर्ने परम्परा बसेको धार्मिक विश्वास छ ।एकपटक भाइटीकाकै दिन आयु समाप्त भइसकेको आफ्नो भाइलाई यमराजसहित उनका दूतले लिन आउँदा दिदीले भाइपूजा गरी तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान यमराजलाई वाचा गराएअनुरूप भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्तीअनुसार पनि दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको बताइन्छ ।दिदीबहिनीले आफ्ना दाजुभाइलाई सात रङका टीका लगाई सगुन, मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने चलन छ । दिदीबहिनीले टीका लगाई दिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन् । दिदीबहिनी नभएका दाजुभाइले टीकाका दिन निधार खाली नराख्न तुलसीको डाँठले आफैँ टीका लगाउने पनि चलन छ भने कसैकसैले धर्म दिदीबहिनी बनाई तिनीहरूबाट टीका लगाउने पनि गर्दछन् ।दाजुभाइ नहुने दिदीबहिनी तथा अरूले काठमाडौँस्थित रानीपोखरीको बीचमा अवस्थित मन्दिरमा गइ दर्शन गर्छन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाकै दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । साथै काष्ठमण्डप मन्दिरमा अञ्जली दिदीले दिदीबहिनी नभएका वा टाढा भएका दाजुभाइलाई सामूहिक भाइटीका लगाइदिने गर्नुभएको छ ।

No comments: