News

Oct 28, 2008

आज साँझ अधिराज्यभर लक्ष्मीपूजा गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यमपञ्चकको तेस्रो दिन आज सोमबार साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चर्ढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन् । लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरी र इन्द्रको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै "जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून्" भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।मनोकामना पुरा गर्न, सङ्कल्प सिद्धि गर्न र वाणीको सत्यता स्थापित गर्न लक्ष्मीलाई आहृवान तथा पूजा गरिन्छ । लक्ष्मी पूजनको अर्थ मनोकामना पुरा गर्नु तथा धनधान्य हुनुमात्र नभइ जबसम्म धरतीलाई सम्मान गरिन्न, जीवनमा ज्ञानको ज्योति बालिन्न र आफूलाई उदार तथा त्यागतर्फ लैजान सकिन्न तबसम्म मानवजीवन सफल र सम्ाृद्ध बनाउन सकिँदैन भन्ने नै यसको अध्यात्मिक भाव रहेको बताइन्छ । ज्ञान र चेतनाका साथ दीपावली गर्ने र लक्ष्मीको पूजा गर्नेको मन शुद्ध रहन सके जीवनमा कीर्ति र समृद्धि प्राप्त हुने पनि धर्मशास्त्रमा उल्लेख छ ।

No comments: