News

Oct 28, 2008

देवकोटाको शतवार्षिकी कार्यक्रम आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी आज सोमबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको 'मुनामदन' खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्त्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृत्रि्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतीय विद्वान् राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाटयसम्राट् बालकृष्ण समले देवकोटा 'मुनामदन', 'शाकुन्तल' महाकाव्य र 'पागल' कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । वि.सं. २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका अविस्मरणीय देन हुन् ।तीन महिनामा 'शाकुन्तल' महाकाव्य, दशदिनमै 'सुलोचना' महाकाव्य र एकै दिनमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि-प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान अझै पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको विशेषता हो ।यसैबीच, नेपाली वाङ्मय प्रतिष्ठानले २०६५ को महाकवि देवकोटा पुरस्कार साहित्यिक पत्रकार भवानी घिमिरेलाई दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा सोमबार बसेको बैठकले महाकविको व्यक्तित्व र कृतित्वको प्रचारप्रसारमा विशेष योगदान दिएबापत् उहाँलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।घिमिरेले 'भानु' पत्रिकाको देवकोटा विशेषाङ्क २०२५ सालमा प्रकाशन गर्नुका साथै 'महाकवि लक्ष्मीप्रसाद देवकोटा' पुस्तकको सम्पादन पनि गर्नुभएको छ । पुरस्कारको राशि रु.१० हजार छ । पुरस्कार आगामी मङ्सिरमा प्रदान गरिने जनाएको छ ।

No comments: