News

Oct 27, 2008

यो सरकार धेरै टिक्दैनः कोइराला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारले कोसीपीडितहरूका लागि व्यवस्थित ढंगबाट राहत वितरण गर्न नसकेको आरोप लगाउनुभएको छ। आइतबार सप्तरीको भारदहमा रहेका विस्थापितहरूको शिविरहरूको निरीक्षणपछि पीडितहरूलाई सम्बोधन गर्दै कोइरालाले यो आरोप लगाउनुभएको हो। म भोलि काठमाडौं पुगेर कोसीबाट विस्थापितहरूका लागि जाडोमा लगाउने लुगा तथा शिविरहरूको राम्रो व्यवस्थाका साथै शौचालय, खानेपानी, स्वास्थ्यजस्ता अति आवश्यक कुराहरू पूरा गर्न सरकारसमक्ष कराउनेछु’ -कोइरालाले भन्नुभयो।भारत तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट कोसी बाढीपीडितहरूलाई व्यवस्थित रूपमा सहयोग जुटाउन अनुरोध गर्ने आश्वासन सभापति कोइरालाले बाढीपीडितहरूलाई दिनुभयो।उहाँले सप्तकोसीबाट विस्थापितहरूको दीघकालीन पुनःस्थापनाका लागि सरकारले कार्य गर्न सक्ने, नसक्ने विषयमा सरकारसँग बुझेर त्यसपछि आवश्यक कदम चाल्ने बताउनुभयो। आइतबार बिहान हेलिकोप्टरबाट भारदह पुग्नुभएका कोइरालाका साथ पुत्री सुजाता कोइराला, नेपाली कांग्रेसका नेता पदमनारायण चौधरी, पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरी हुनुहुन्थ्यो।यसैबीच बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जानुअघि इनरुवामा पत्रकारसँग कुरा गर्दै सभापति कोइराराले यो सरकार आफनै कारणले चाँडै ढल्ने बताउनुभयो।यो निकम्मा सरकारले आश्वासनको पोका जनतासमक्ष बाँडिरहेको छ तर वर्तमान अवस्थामामा शान्तिसुरक्षासम्म दिन सकेको छैन’ -उहाँले भन्नुभयो। वर्तमान सरकारले प्रजातन्त्र मास्न खोजेकाले अब धेरै टिक्न नसक्ने उहाँले बताउनुभयो।सभापति कोइरालाले प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताप्रति कहिल्यै कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै कांग्रेसले जहिले पनि सहमति र सहकार्यको राजनीति गर्दै आएको बताउनुभयो।सो अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी दुगा भण्डारीले विस्थापित बासिन्दालाई अहिलेसम्म राहत वितरण र पुनःस्थापनाका लागि भएका कामका बारेमा सभापति कोइरालालाई जानकारी गराउनुभएको थियो।

No comments: