News

Jan 25, 2009

त्रिविमै पढाइन्छ- बुद्ध भारतमा जन्मेका हुन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुद्ध भारतमा जन्मिएका भनेर एउटा संवाद राखिएको हिन्दी फिल्मी 'चाँदनी चोक टु चाइना'लाई सरकारले प्रदर्शनका लागि प्रतिबन्धित गरेका वेला हाम्रै पाठ्यक्रममा 'बुद्ध भारतमा जन्मेको' लेखिएको फेला परेको छ । त्रिभुवन विश्वविद्यालयको एक पाठ्यक्रममा समेत बकाइदा 'बुद्ध भारतमा जन्मेको' उल्लेख छ । त्रिविको स्नातकोत्तर तह दोस्रो वर्षको अंग्रेजी विषयमा पढाइ हुने पाठ्यपुस्तक हिस्ट्री अफ नलेजको पेज नम्बर २१ मा लेखिएको छ- Siddhartha Gautama, the Buddha (Enlightned One), had been born about 563 bc to a princely family of northern India. (सिद्धार्थ गौतम, बुद्ध ५६३ तिर उत्तरी भारतको एउटा खानदानी परिवारमा जन्मेका थिए) । चाल्र्स भ्यान डोरेनद्वारा लिखित हिस्ट्री अफ नलेज नामक सो पुस्तक ०५६ सालमा पाठ्यक्रम परिवर्तन भएयता त्रिविअन्तर्गतका स्नातकोत्तर तहमा पढाइँदै आइएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीले गौतम बुद्ध नेपालमा जन्मेको तथ्यबारे कुरा उठाउँदा शिक्षकहरूले बेवास्ता गर्ने गरेको गुनासो गरे । स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत नारायण संगमले नयाँ पत्रिकासँग भने, 'हामीले तथ्यलाई बंग्याइएको भनी क्लासमै प्रश्न उठायौँ, तर कसैले वास्ता गर्दैनन् ।' नेपालको कपिलवस्तुमा जन्मेका बुद्धलाई 'भारतीय' बनाइएको पाठ्यक्रम नेपाली विद्यार्थीलाई १० वर्षदेखि पढाइँदै छ । तथ्य बिगारेर संवाद राखिएको हिन्दी चलचित्र 'चाँदनीचोक टु चाइना'का विरुद्ध सडकमा उत्रेका विद्यार्थी संगठनहरूले समेत आफ्नै विश्वविद्यालयले त्यही 'अफवाह' पढाइरहेकोप्रति भने अनभिज्ञता व्यक्त गरेका छन् । करिब १० वर्षअघि अभि सुवेदी अंग्रेजी विषयको विभागप्रमुख हुँदा पाठ्यक्रम परिवर्तन गरिएको थियो । त्यसपछि अन्य पाठ्यपुस्तक परिवर्तन गरिए पनि चाल्र्स भ्यानको हिस्ट्री अफ नलेज परिवर्तन गरिएको छैन ।त्रिवि अंग्रेजी केन्द्रीय विभागप्रमुख डा. कृष्णचन्द्र शर्माले स्नातकोत्तर तहको पाठ्यपुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख भएको विषयमा आफूलाई जानकारी नै नभएको बताए । 'विद्यार्थीलाई पाठ्यपुस्तकको हरेक हरफ नपढाउने भएकोले त्यो कुरा मैले थाहा पाएको छैन,' शर्माले नयाँ पत्रिकासँग भने, 'त्यस्तो छ भने पाठ्यक्रमबाट हटाउँछौँ ।' तत्कालीन अंग्रेजी विषयका विभागप्रमुख अभि सुवेदीले पनि पाठ्यक्रममा गौतम बुद्ध भारतमा जन्मेको भनी उल्लेख भएको कुरा आफूलाई सम्झना नभएको बताए । 'त्यतिवेलाको कुरा अहिले सम्झना भएन,' सुवेदीले प्रतिक्रिया दिए ।

No comments: