News

Jan 29, 2009

पूर्वराजा ज्ञानेन्द्रको 'बुलेटप्रुफ' कोठामा उपेन्द्र यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रको 'बुलेटप्रुफ' कोठामा सजाइएको कुर्चीमा बस्दा हँसिलो मुद्रामा देखिन्थे परराष्ट्रमन्त्री उपेन्द्र यादव । आफ्नो मन्त्रालय शीतलनिवासबाट नारायणहिटी सरेपछि उनले नयाँ कुर्चीमा बस्दै भने, 'बडो मजा लाग्यो मलाई ।'मन्त्रालय सरेपछि बुधबार मध्याह्न १२:४० मा बा१झ ८२३३ नम्बरको राष्ट्रिय झन्डाबाहक गाडीमा चढेर नारायणहिटीको पश्चिम गेटबाट भित्र छिरेका मन्त्री यादवको अनुहारमा दिनभर कौतुहलता र उत्साह देख्न सकिन्थ्यो । कार्यकक्ष छिर्नुअघि उनले बाहिरैबाट नारायणहिटी दरबार क्षेत्रलाई एकटकले हेरिरहे । दरबार हत्याकान्ड घटेको क्षेत्रतिर पनि उनले पटक-पटक दृष्टि पारे । मन्त्री यादवले कर्मचारीहरूसँग दरबार कान्ड भएको त्यही ठाउँ होइन ? भनेर सोधे पनि ।त्यसपछि उनी १२:४५ मा छिरे सुविधासम्पन्न कार्यकक्षमा । जुन बुलेटप्रुफयुक्त थियो । 'मचाहिँ राजा होइन है, जनताको छोरो,' पूर्वराजा ज्ञानेन्द्रले बनाएको बुलेटप्रुफ झ्यालतर्फ हेर्दै उनले भने । मन्त्री यादवले आफ्नो कार्यकक्ष त्यही कोठालाई बनाएका छन्, जुन कोठामा पूर्वराजा ज्ञानेन्द्रले दरबारको प्रशासनिक कार्य गर्थे । 'किन यही बुलेटप्रुफ कोठा रोज्नुभयो ?' सञ्चारकर्मीको जिज्ञासामा मन्त्री यादवले ठट्यौलो पाराले जवाफ दिए, 'पत्रकारका लागि समाचारको विषय बनोस् भनेर नि ।' उनी मुस्कुराउँदै थिए । 'जनताको छोरो बस्न पाउनु कम्ती चानचुने कुरा होइन् यस्तो सुरक्षित र पहिलाका राजा-महाराजा बस्ने ठाउँमा,' यादवले भने, 'वास्तवमा हामी नेपालीले छुट्टै इतिहास बनाएका छौं, यो विश्व जगतका लागि उदाहरणीय बनेको छ ।'गोलीको दाग लागेको उनी बसेकोभन्दा पछाडिको बुलेटप्रुफ सीसातर्फ देखाउँदै सञ्चारकर्मीले जिज्ञासा तेस्र्याए, 'त्यो त पूर्वराजा ज्ञानेन्द्र आफैंले गोली चलाएर बनाएको दाग रे नि ?' प्रश्नप्रति केही क्षण मौनता साँधेर उनले जवाफ फर्काए, 'यो त उनैलाई सोध्नुपर्छ । जे भए पनि हामी जनताका छोराछोरी यहाँ आएका छौं, यो त ठूलो परिवर्तन हो नि ।'उनले राजशाही सदाका लागि समाप्त भएर अब लोकशाही सुरु भएको विश्लेषण पनि सुनाए सञ्चारकर्मीलाई । 'अब राजा-महाराजाहरू इतिहासको पानामा सीमित भइसके, उनीहरूको आगमन अब असम्भव छ,' उनले ठोकुवा गरे ।मन्त्री यादवले पूर्वदरबारको सचिवालय रहेको भवनमा रहेका कोठामध्ये सबैभन्दा राम्रो कोठा आफूले रोजेको बताए । भने, 'कार्य सम्पादन गर्न सजिलो होस् भनेर यही रोजेको,' उनले हाँस्दै भने, 'वास्तविकता यही हो, राजा बसेको भएर चाहिँ होइन ।' 'दरबार हत्याकान्ड त्यही नजिकै भएको थियो नि, कस्तो अनुभूति भइरहेको छ त ?' नयाँ पत्रिकाको जिज्ञासामा उनले भने, 'त्यो इतिहासको दुखद क्षण थियो । त्यसको उचित छानबिन होला । तर, सोही घटनाका कारण नै हामी आतंकित हुने कुरै आउँदैन, किनकि हामी भौतिकवादमा विश्वास गर्ने २१औं शताब्दीका मान्छे हौं ।' पूर्वराजा ज्ञानेन्द्रलाई यही कोठा फापेन नि भन्ने अर्को जिज्ञासामा उनले भने, 'कोठा र कुर्चीका कारण होइन उनको आफ्नै कारणले त्यस्तो भएको हो । हातले बिगारेको ।'दरबार हत्याकान्ड भएको त्रिभुवन सदनको बिलियार्ड हल परराष्ट्रमन्त्री यादव बस्ने बुलेटप्रुफ कोठाबाट झन्डै पाँच सय मिटरको दूरीमा पर्छ । सो हल पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा भत्काइसकिएको छ । 'ए ! शौचालय र बाथरुम पनि बुलेटप्रुफ नै छ हगि ?' सञ्चारकर्मीसँगको भेटघाटपछि शौचालयतर्फ मोडिँदै यादवले भने । झन्डै एक घन्टा मन्त्री यादवले सञ्चारकर्मीसँग बिताएपछि उनले सोही बुलेटप्रुफ कोठामा नै आधा घन्टा जति परराष्ट्र-सचिव ज्ञानचन्द्र आचार्य, प्रवक्ता सुरेश प्रधानलगायत मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका थिए । छलफल १:४५ देखि २:१५ सम्म भएको थियो ।त्यसपछि २:१५ मा मन्त्री यादव अस्ट्रेलियन राजदूत ग्रयाहम लेटको पदावधि सकिएकाले झन्डै पन्ध्र मिनेटजति उनको औपचारिक बिदाइ कार्यक्रममा सहभागी बने । त्यस अवसरमा लेटले समेत बुलेटप्रुफ कोठा र त्यसको ऐतिहासिक पक्षका बारेमा मन्त्री यादवसँग जानकारी लिएका थिए ।मन्त्री यादवले राजदूत लेटलाई उपहारस्वरूप नेपाली कलात्मक सिंहको मूर्ति प्रदान गरे । त्यसपछि केही समय प्रशासनिक कार्यमा जुटेका मन्त्री यादव २:५५ मा बुलेटप्रुफ कोठाबाट बाहिरिएका थिए ।

No comments: