News

Jan 20, 2009

एचआइभी पोजेटिभ आठ विद्यार्थीलाई अध्ययनबाट वञ्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'रोगीलाई होइन, रोगलाई घृणा गरौँ' भन्दै सरकारी र गैरसरकारी संस्थाहरूले जनचेतनाका नाममा लाखौं रुपैयाँ खर्च गरिरहेका वेला कैलालीको एक विद्यालयले एचआइभी पोजेटिभ आठ विद्यार्थीलाई अध्ययनबाट वञ्चित गरेको छ ।धनगढी नगरपालिका- ४ उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले ती विद्यार्थीलाई एचआइभी/एड्स संक्रमित भएको भनेर निष्कासन गरेपछि न त कुनै सरकारी निकायले पीडित बालबालिकाप्रति चासो देखाएको छ न कुनै डलरवादी संस्थाले नै । रक्त-परीक्षणका क्रममा राष्ट्रिय माविमा अध्ययनरत आठजना बालबालिकामा एचआइभी पोजेटिभ भेटिएपछि उनीहरूलाई स्कुल नबोलाइएको विद्यालय प्रशासनले समेत पुष्टि गरेको छ । 'त्यस्तो भएपछि स्कुल बोलाइएको छैन,' राष्ट्रिय माविका एक शिक्षकले नयाँ पत्रिकासँग भने, 'अरू अभिभावकको दबाब बढ्दै आएपछि हामीले संक्रमित विद्यार्थीलाई स्कुल नआउन भन्यौँ ।'विद्यालयबाट निकालिएका ती आठ विद्यार्थी ५० दिनदेखि विद्यालय जान पाएका छैनन् । कक्षा एक र दुईमा अध्ययनरत ६ देखि १४ वर्ष उमेर समूहका ती बालबालिकाका अभिभावकसमेत छैनन् । कैलाली, डडेल्धुरा र बर्दिया घर भएका अधिकांश ती बालबालिकाका अभिभावकको यसअघि नै एचआइभी/एड्सबाट मृत्यु भइसकेको बताइएको छ ।स्थानीय एक सामाजिक संस्थाको पहलमा २४ कात्तिक ०६५ मा सो विद्यालयमा भर्ना गरिएका ती बालबालिकालाई रक्त-परीक्षणपछि २ मंसिरमा विद्यालयबाट निकालिएको हो । विद्यालयबाट निष्कासन गरिएका ती बालबालिकालाई अहिले नवकिरण प्लसले सञ्चालन गरेको कोपिला बाल आश्रममा राखिएको छ । विद्यालय जान नपाएपछि उनीहरूको दिन खेलेर नै बित्ने गरेको आश्रम सञ्चालकले बताए ।एचआइभी संक्रमितहरूलाई छोएर अथवा उनीहरूसँग उठबस गर्दैमा एचआइभी/एड्स सर्दैन भनेर सरकारी तथा गैरसरकारी संस्थाहरूले राष्ट्रिय रूपमा प्रचार गर्न थालेको वर्षौं बितिसकेको छ । गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष रविकान्त पन्तले भने, 'एचआइभी/एड्सको नियन्त्रण र संक्रमितहरूको सहयोगका लागि कैलालीमा मात्र दर्जनौं संस्था क्रियाशील छन् । धनगढीमा नै एचआइभी संक्रमितहरूमाथि यस्तो व्यवहार हुन्छ भने अन्यत्र कस्तो होला ?'

No comments: