News

Jan 28, 2009

जागिर गुमेपछि श्रीमतीसहित पाँच सन्तानलाई गोली हानेर मारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लसएन्जलस/ आर्थिक मन्दीका कारण जागिर गुमेपछि संयुक्तराज्य अमेरिकाका एक बाबुले आफ्नी श्रीमतीसहित पाँच सन्तानलाई मंगलबार गोली हानेर मारेका छन् । परिवारका सदस्यलाई गोली हानेर मारेपछि ४० वर्षीया इर्भिन लुपो आफैंले पनि आत्महत्या गरेका छन् । श्रीमती र छोराछोरीलाई मार्नुअगाडि एक स्थानीय टेलिभिजन स्टेसनलाई उनले दुई पाना लामो फ्याक्स पठाएका थिए । श्रीमती र आफ्नो रोजगारी गुमेपछि त्यसको परिणामबाट भाग्न श्रीमती र आफूले सामूहिक हत्या गर्ने योजना बनाएको फ्याक्समा उल्लेख गरेका छन् । 'अर्काका हातमा आफ्ना सन्तान किन सुम्पने,' बाबु इर्भिन लुपोले केएबिसी टेलिभिजनको वेबसाइटमा फ्याक्समार्फत पठाएको पत्रमा लेखेका छन् । मेडिकल टेक्निसियनका रूपका कार्यरत लुपो दम्पतीलाई अस्पतालमा झगडा परेपछि निकालिएको बताइएको छ । आर्थिक मन्दीका वेला अर्का काम पाउन असम्भवजस्तै भएको लुपोले फ्याक्समा लेखेका छन् । टेलिभिजन स्टेसनले फ्याक्स पाएपछि तुरुन्तै प्रहरीलाई खबर गर्‍यो । यसबाहेक, प्रहरीलाई एक पुरुषले फोन गरेर 'म भर्खर घर फर्के । मेरो पूरा परिवारलाई गोली हानिएको छ,' भनेको प्रहरीले बताएको छ । घटना घटेको केही मिनेटभित्रै प्रहरी घटनास्थल पुगे । तर, फ्याक्समा श्रीमती एना लुपोले परिवारका सबै सदस्यको हत्याको योजना बनाएको प्रहरी लेफ्टिनेन्ट जोन रोमिरोले बताए । घटनाका लागि इर्भिन लुपो दोषी भएको हुनसक्ने उनले बताएका छन् । उनका अनुसार बन्दुक इर्भिनको शरीरनजिकै भेटिएको थियो । एना लुपोको शरीर दुई वर्षका जुम्ल्याहा छोरासँग माथिल्लो तलाको कोठामा भेटिएको थियो । आठ वर्षकी छोरी र पाँच वर्षका दुई जुम्ल्याहा छोरीको शरीर इर्भिन लुपोको शरीरनजिकै अर्का कोठामा भेटिएका थिए । सबैको टाउकामा गोली लागेको साहायक प्रहरी अधिकारी इद विन्टरले बताए । इर्भिन लुपोले एक साताअघि आफ्ना तीन सन्तानलाई स्कुलबाट निकालेका थिए । केन्सास सहरमा बसाइँ सर्ने बताउँदै छोराछोरी स्कुलबाट निकालेको स्कुलका प्रधानाध्यापकले बताएका छन् । इर्भिन लुपो र उनकी श्रीमती एना लुपो पश्चिम लस एन्जेलसमा रहेको केसर पर्मानेट मेडिकल सेन्टरमा मेडिकल टेक्निसियनका रूपमा काम गर्थे । चिठीको अन्त्यमा इर्भिनले लेखेका छन्— 'हे भगवान् के विधवाका छोराका लागि केही आशा छैन ?' सोसल नेटवर्किङ साइट फेसबुकमा इर्भिन लुपोले छोरीको कराँते खेलिरहेको तस्बिर राखेका थिए । लुपोका छिमेकी तथा रिटार्यड ट्रक ड्राइभर जेमी सोलेचेका अनुसार उनका छिमेकमा भएका प्रायः घरहरू बैंकको कालो सूचीमा परिसकेका थिए । यस क्षेत्रमा विगत केही समययता आर्थिक मन्दीका कारण सामूहिक हत्याका घटनाहरू बढेका छन् । डिसेम्बर २४ मा क्रिसमसको पूर्वसध्यामा एक पुरुषले रोजगारी गुमाएपछि पूर्व श्रीमतीसहित उनका आठ आफन्तलाई गोली हानेर मारेका थिए । सबैलाई मारेपछि ती पुरुषले आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए । अक्टोबरमा सान फर्नान्डो भ्यालीका एक बेरोजगार आर्थिक व्यवस्थापकले पैसाको अत्यन्त संकट परेपछि श्रीमती, तीन सन्तान र सासूलाई गोली हानेर मारेपछि आफूले पनि आत्महत्या गरेका थिए । जुनमा एक टर्किस-अमेरिकन परिवारका पाँच सदस्यको शव आफ्नै एपार्टमेन्टमा मरिरहेको अवस्थामा फेला परेको थियो । अनुसन्धानकर्ताले यो आत्महत्या भएको हुनसक्ने बताएका छन् ।

No comments: