News

Jan 28, 2009

एकै दिन विश्व बजारबाट ७० हजारले रोजगारी गुमाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक मन्दीका कारण एकै दिन विश्व बजारबाट ७० हजारले रोजगारी गुमाएका छन् । सोमबार मात्रै सात कम्पनीले एकैपटक यति धेरै कामदार कटौती गरेका हुन् । सबैभन्दा बढी संकट झेलिरहेको कन्स्ट्रक्सन कम्पनी क्याटरपिल्लरले बढी कामदार कटौती गरेको छ । घाटामा रहेको सो कम्पनीबाट मात्र २० हजार कामदार कटौती हुनेछन् । त्यस्तै, युरोपको फिलिप्स कम्पनी, कोरस र आइएनजी बैकले पनि ठूलो संख्यामा कामदार कटौती घोषणा गरेका छन् । क्याटरपिल्लरका प्रमुख कार्यकारी अधिकृत जिम ओवेन्सले सन् २००९ कम्पनीका लागि सबैभन्दा संकटको समय भएको बताए । जुन कम्पनीले कामदार कटौती घोषणा गरेका छन्, ती कम्पनीको अवस्था अत्यन्त दयनीय अवस्थामा छ । क्याटरपिल्लरको मुनाफा गत वर्षको चोथौ त्रैमासिकमा ३२ प्रतिशत गिरावट आएको छ । त्यस्तै, अमेरिकी कम्पनी टेक्सास इन्स्ट्रुमेन्टले ३४ सय कामदार कटौती निर्णय गरेको छ । मोबाइल चिप उत्पादक सो कम्पनीका उत्पादन माग घटेकाले कामदार कटौतीको घोषणा गर्नुपरेको बताइएको छ । अमेरिकाकै अर्को औषधी कम्पनी फाइजरले २० हजार कामदार कटौती घोषणा गरेको छ । त्यस्तै, मोटर कम्पनी जनरल मोर्टस् कम्पनीले कार माग घटेपछि मिसिगन र ओहायोको कारखाना बन्द गरिसकेको छ । सो कम्पनीमा कार्यरत दुई हजार कामदार कटौती निर्णय गरेको छ । नेदरल्यान्डको आइएनजी बैकले समेत सात हजार कर्मचारी कटौती घोषणा गरेको छ ।आर्थिक संकटसँगै कामदार कटौती रोक्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक प्याकेज प्रस्ताव गरेका छन् । उनले अमेरिकी संसद्मा ८ सय २५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक प्रस्ताव प्रस्तुत गरेका छन् । सो प्याकेजमा करको दर कमी गर्ने र सरकारी लगानी बढाउने विषयलाई महत्त्व दिइएको छ । ओबामाले रोजगारी गुमाएका परिवारको सपना बर्बाद हुनबाट जोगाउनुपर्ने धारणासमेत राखेका छन् ।

No comments: