News

Jan 27, 2009

आफ्नै परिवारले अपहरण गराएको घटना सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामाजिक हैसियत बढाउन बाँकेस्थित बेतहनी- २ को एउटा परिवारले आफ्नै १६ वर्षीया चेलीको नाटकीय अपहरण गराएको घटना सार्वजनिक भएको छ । विद्यालय व्यवस्थापन समिति र सामुदायिक वनको अध्यक्ष हुन नपाएपछि आफ्नै काकाद्वय कैयुम खाँ र जमालुद्दिन खाँले आठ कक्षा पढ्दै गरेकी किशोरी छोरी बाहिदा खातुनलाई नाटकीय अपहरण गराएका हुन् । घटनामा बाहिदाकी आफ्नै आमा र बाबुको संलग्नता रहेको सम्भावना पनि देखिएको छ । परिवारद्वारा अपहरणको जाल गरी भगाइएकी बाहिदा दुई सातापछि भागेर नेपालगन्ज आएपछि घटनाबारे विवरण प्राप्त भएको हो ।झोरा सामुदायिक वन र हल्बल डोली नेरा प्राविको व्यवस्थापन समितिको अध्यक्ष हुन नपाएको भन्दै काका कैयुम खाँ र जमालुद्दिन खाँले 'ज्यान मार्ने धम्की दिई आफूलाई भगाएर नाटक रचेको' भतिजी बाहिदाले बताइन् ।बाहिदालाई भगाउनुअघि झोरा सामुदायिक वन र हल्बल डोली प्राथमिक विद्यालयको सञ्चालक समितिको अध्यक्ष पद हत्याउन खाँ दाजुभाइले अर्को एउटा समूहलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिट प्रकरणपछि प्रहरीले बाहिदाका काकाहरूलाई प्रक्राउ गर्न खोजिरहेका वेला उनीहरूले आफ्नै छोरीलाई भगाएपछि घटनाले अर्कै मोड लिएको स्थानीयवासीले बताए । 'उनीहरूले जसलाई पिटेका थिए छोरी अपहरण गरे भनेर पीडितहरूकै विरुद्धमा उजुरी गरे,' बेतहनीका एक स्थानीयवासीले नयाँ पत्रिकासित भने, 'त्यसपछि त घटना नै अर्कै भयो ।'कुटपिट प्रकरणपछि छोरी अपहरण गरेको भन्दै बाबु सब्बिर खाँले बनकट्टी- २ हलबलडोलीका बदरु दर्जी खाँ, बबर खाँ, बद्री अलाम खाँ, मोहम्मद जकिर खाँ, युनिस खाँ, रफिउद्दिल खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दरखास्त दर्ता गराएका थिए । यता नेपालगन्जस्थित मानवअधिकारवादी संघसंस्थामा पनि खातुनको रिहाइका लागि निवेदन परेको थियो ।जाहेरी दरखास्त परेपछि जिल्ला प्रहरी कार्यालय, बाँकेले अभियोग लागेकाहरूसँग बयान लिई घटनाबारे अनुसन्धान सुरु गरेको थियो । अधिकारकर्मी र सञ्चारकर्मीले भारतबाट सोमबार नेपालगन्ज ल्याई सार्वजनिक गरिएकी बाहिदाले बेपत्ताको रहस्य खुलेकाले घरपरिवारबाटै आफू असुरक्षित भएको बताएकी छिन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगन्जमा छोरी भेट्न आएका बाबु र काकासँगसमेत छोरी बाहिदा केही बोल्न चाहिनन् । अधिकारकर्मी र सञ्चारकर्मीसँग उनको अनुरोध थियो, 'मलाई घर फिर्ता नपठाउनुस् । मलाई खतरा छ ।'खातुनको अनुरोधलाई स्वीकार गर्दै अधिकारवादीहरूले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक मिंगमार लामाको जिम्मा लगाएका छन् ।

No comments: