News

Jan 30, 2009

बजारमा ३० प्रतिशत नक्कली रक्सी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्सीको सौखिन हुनुहुन्छ भने विचार पुर्‍याउनुहोस् । नक्कली रक्सी खाएर ज्यान जाला । काठमाडौं उपत्यकामा मात्रै ३० प्रतिशत नक्कली रक्सीको कारोबार भइरहेको आधिकारिक व्यवसायीहरूले दाबी गरेका छन् । सस्तो रक्सी उपभोग गर्ने बर्गमा दिनप्रतिदिन नक्कली रक्सीका उपभोक्ता बढ्दै गएको समेत उनीहरूको दाबी छ । उच्च, मध्यम र न्यून सबै कोटिका मदिराको नक्कली उत्पादन भइरहेको व्यवसायीहरूले बताए । नक्कली रक्सीको सेवनले सर्वसाधारणको ज्यान गए पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको व्यवसायीको गुनासो छ । 'हामी सरकारी नियम पालना गरी कर तिरिरहेका छौँ,' नेपाल पेय तथा चुरोट उद्योग संघका अध्यक्ष सविनलाल श्रेष्ठले भने, 'हाम्रो बिक्री-वितरण पनि पारदर्शी छ, तर साइकलमार्फत ढुवानी गरी लुकाएर बेचिने नक्कली मदिराका कारण हामीले समस्या झेल्नुपरेको छ ।'पाँचतारे होटलमा समेत नक्कली रक्सी बिक्री-वितरण हुने व्यवसायीको भनाइ छ । 'राजधानीको एउटा पाँचतारे होटलमा आयोजित पार्टीमा मदिराको स्वाद स्वाभाविक नलागेपछि कुरा उठाउँदा उनीहरूले तत्कालै अर्को मगाएर सर्भिस गरेका थिए,' उनले भने, 'त्यसैले यसमा ठूलै समूहको संलग्नता आशंका गर्न सकिन्छ ।' खुकुरी रम उत्पादन गर्ने द नेपाल डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत अमित गोश्वामीले बजारमा रम र भर्जिनका कारण मान्छेको मृत्यु भएको चर्चा चले पनि त्यो सत्य नभएको दाबी गरे । 'कुनै ब्रान्डको मदिरा पिएर होइन, नक्कली रक्सीले असर गरेको हो,' उनले भने, 'न्यूनदेखि उच्चकोटिको रेडलेबलसम्मका रक्सीको नक्कली उत्पादन भइरहेछ ।' विषाक्त रक्सीका कारण यो साता मात्रै एकजनाको मृत्यु भएको र चारले आँखाको ज्योति गुमाएको समाचार प्रकाशमा आएको थियो ।नक्कली मदिरा सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताले पनि विचार गरेर किन्नुपर्ने उनले बताए । 'दुई हजार पर्ने रेडलेबलको नक्कलीलाई एक हजार तीन सय मात्र पर्छ भने केसको तीन हजार पाँच सय हाराहारी पर्ने खुकुरी रम दुई हजारमा पाइन्छ,' उनले भने, 'सस्तो पाइयो भन्दैमा उपभोक्ताले झुत्ती खेल्ने होइन, गुणस्तर हेरेर किन्ने गर्नुपर्छ ।'अधिक उपयोग हुने र धेरै कर तिर्ने मदिराको बढी नक्कल भइरहेको हिमालयन डिस्टिलरीका संस्थापक अध्यक्ष विजय शाहले बताए । 'केही महिनाअघि नक्कली मदिरा (सोफी) का कारण २४ जनाको मृत्यु भए पनि सरकारले दोषीलाई कारबाही गर्न सकेन,' उनले भने, 'अहिले पनि त्यही प्रवृत्ति बल्झन खोज्दै छ ।' रक्सीमा स्टिकर लगाउँदा नै बिर्कोबाट बोतलको निकै तल्लो भाग ढाक्ने गरी लगाउन आफूहरूले प्रस्ताव गरे पनि सम्बन्धित निकायले अटेर गरेको उनले बताए । 'बिर्कोमा अलिकति स्टिकर टाँस्नुभन्दा बोतलको मध्यभागसम्म टाँस्न गरेको प्रस्ताव टेरिएन,' उनले भने, 'त्यसैले यसमा थप नियत जोडिएको आशंकासमेत गर्न सकिन्छ ।'हिमालयन डिस्टिलरीका प्रबन्ध-सञ्चालक रमेश श्रेष्ठले कार्टुनको सट्टा बोतलमै स्टिकर लगाउन थाले पनि केही उपलब्धि हुन नसकेको बताए । दण्डहीनता कायम हुन्जेल मदिरा उत्पादनको अपराध अन्त्य नहुने उनले दाबी गरे । 'नक्कली रक्सी बनाएको भेटे पनि ११/१२ हजार जरिवाना गरेर छोडिन्छ,' उनले भने, 'त्यस्तालाई कडा कारबाही गर्नुपथ्र्यो ।'नेपालमा घरपाला र उद्योगबाट वाषिर्क कति रक्सी खपत हुन्छ यकिन नभए पनि अर्बौंको व्यापार हुने अनुमान छ । देशभर खपत हुने रक्सीको ५० प्रतिशत राजधानीमा उपयोग हुने व्यवसायीहरू बताउँछन् ।

No comments: