News

Jan 28, 2009

सेनाले सरकारको आदेश पालना गर्नैपर्छ - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा बादलले नेपाली सेनाले सरकारको आदेशको पालना गर्नुपर्ने बताउनुभएको छ । संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको मंगलबारको बैठकमा उहाँले नयाँ सैन्य भर्ना प्रक्रिया स्थगित नभए सरकार कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिदैं भन्नुभयो-'आदेश दिने काम सरकारको हो, आदेश उल्लङ्घन गर्न पाइँदैन । सरकारको आदेश पालना नगरे चिज अर्कै बन्छ ।' सैन्य भर्ना प्रक्रिया स्थगन गर्न रक्षा मन्त्रालयले निर्देशन दिइसकेकाले मन्त्रालयको निर्देशनलाई सेनाले पालना गर्नुपर्ने बताउँदै रक्षामन्त्री थापाले सेना भर्नाको विषयलाई उचालेर रक्षामन्त्री र प्रधानसेनापतिलाई जुधाउने प्रयास भइरहेकामा आपत्ति जनाउनुभयो । नेपाली सेनाका उच्च अधिकारीले सरकारको निर्देशन पालना गर्न तयार रहेको बताए पनि केही विषयमा सरकारी निर्देशन पालना नभएकामा रक्षामन्त्रीले आपत्ति प्रकट गर्नुभयो । यसैबीच, रक्षामन्त्री थापाले साम्राज्यावादीलाई परास्त गरेर नेपाली जनताले प्राप्त गरेको उपलब्धि अझै अपुरो भएकाले गन्तव्यसम्म पुग्न थप संघर्ष गर्नुपर्ने बताउनुभएको छ । उहाँले तामाङ समुदायले उठाएको ताम्सालिङ प्रदेश -तामाङ स्वायत्त प्रदेशको माग जायज भएको र जनताका यस्ता जायज माग पूरा गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । बौद्धधर्मअन्तर्गत महायान सम्प्रदाय (तामाङजाति) को सांस्कृतिक चाड ल्सोसार राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । रक्षामन्त्री बादलले सबै जनजातिको रक्षाका निम्ति सरकारले राष्ट्रिय सुरक्षा नीति तयार पार्न लागेको पनि उल्लेख गर्नुभयो ।नेकपा एमाले स्थायी समिति सदस्य केशव बडालले शताब्दिऔ पुरानो सामन्तवादको अन्त्य भइ सबै जातजाति र भाषाभाषीको अधिकार स्थापनाका लागि संविधान लेखन कार्य प्रारम्भ हुन लागेकाले यस कार्यमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ भन्नुभयो ।

No comments: