News

Jan 25, 2009

बेलायत दुई दशकको सबैभन्दा ठूलो मन्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायत दुई दशकको सबैभन्दा ठूलो मन्दीबाट गुज्रिएको छ । सन् १९९१ पछि बेलायतले आर्थिक मन्दीको मार खेपेको हो । गत वर्षको पछिल्लो तीन महिनामा बेलायतको आर्थिक वृद्धिदरमा एक दशमलब पाँच प्रतिशतले गिरावट आएको छ । त्यसभन्दा अघिको त्रैमासिक आर्थिक वृद्धिदरमा शून्य दशमलब ६ प्रतिशतले कमी आएको थियो । लगातार दुई त्रैमासिकमा आर्थिक वृद्धिदर ऋणात्मक भएमा मन्दी भन्ने गरिन्छ । सन् १९८० को दशकपछि बेलायतको आर्थिक वृद्धिदरको यो सबैभन्दा धेरै गिरावट हो । डलरको तुलनामा पाउन्डको मूल्यमा समेत गिरावट आएको छ । अहिले डलरको तुलनामा पाउन्ड २४ वर्षकै न्यूनबिन्दुमा छ । यस अवधिमा बेलायतको सेयर इन्डेक्ससमेत दुई प्रतिशतभन्दा कम बिन्दुमा कायम भएको छ । सरकारी आंकडाअनुसार निर्माण क्षेत्रमा सबैभन्दा गिरावट आएको छ । बेलायतको औद्योगिक उत्पादन चार दशमलब ६ प्रतिशतभन्दा कममा पुगेको छ । बेलायतका अर्थशास्त्री स्टेफन फेर्डसका अनुसार यस वर्षको अन्त्यसम्ममा पनि बेलायतको अर्थतन्त्रमा सुधार आउने सम्भावना कम छ । बेलायतका अर्थमन्त्री एलेस्टर डालिङले बेलायत अहिले कठिन परिस्थितिमा रहेको बताए । 'सरकारसामु ठूलो चुनौती छ,' उनले भने, 'यो बेलायतका जनताका लागि सबैभन्दा कठिन समय हो ।' पछिल्लो समयमा बेलायतमा बेरोजगारको संख्यामा व्यापक वृद्धि भएको छ । बेलायतमा करिब २० लाख बेरोजगार भएका छन् । बेलायतको प्रतिष्ठित एकाउटिङ कम्पनी केपिएमजीका प्रमुख अर्थशास्त्री एन्ड्रु स्मिथले छिट्टै बेलायतको अर्थव्यवस्थामा सुधार आउने सम्भावना नदेखिएको बताए । विश्लेषकका अनुसार सन् २०१० अगाडि बेलायती अर्थतन्त्रमा सुधार आउने सम्भावना कम देखिएको छ ।

No comments: