News

Jan 22, 2009

हिन्दी फिल्म 'चाँदनी चोक टु चाइना' नेपालका लागि प्रदर्शनमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका विभिन्न हलमा प्रदर्शन भइरहेको हिन्दी फिल्म 'चाँदनी चोक टु चाइना' नेपालका लागि प्रदर्शनमा रोक लागेको छ । विद्यार्थी एवं नेपाली चलचित्रकर्मीले उक्त फिल्ममा गौतमबुद्ध भारतमा जन्मेको भनेर झूटो प्रचार गरेको भन्दै व्यापक विरोध गरेका थिए । बुधबार नै सूचना तथा सञ्चार मन्त्रालयले 'चाँदनी चोक टु चाइना'को मुलुकभर प्रदर्शन रोकिएको जानकारी गराएको छ । मन्त्रालयद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ- 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा भएको बढ्दो जनविरोधलाई ध्यानमा राख्दै ७५ वटै जिल्लामा प्रदर्शन रोक्ने विषयमा पत्राचार भइसकेको छ ।' वैधानिक रूपमा आउने फिल्ममा जाँचपास समितिको निर्णय लागू हुने भए पनि अवैध रूपमा आउने सिडी एवं भिसिडी नियन्त्रणका लागि पनि मन्त्रालयले पहल गर्ने भएको छ । साथै, मन्त्रालयले अन्तर्राष्ट्रिय रूपमै उक्त चलचित्रको प्रदर्शन रोक्नका लागि कूटनैतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । 'ग्रेटर नेपाल'का निर्देशक मनोज पण्डितको अगुवाइमा बुधबार भारतीय दूतावासअगाडि युवाहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । भारतले पटक- पटक नेपालको सन्दर्भमा हस्तक्षेप गरेकाले प्रदर्शन गर्नुपरेको धारणा राखेका पण्डितले यस विषयमा भारतीय राजदूतले माफी माग्नुपर्ने धारणा राखे । यदि सरोकारवालाले नबुझेजस्तो गरे विरोधका थप कार्यक्रम गरिने उनले जानकारी दिए । यसैबीच, बाँकेमा 'चाँदनी चोक टु चाइना' को विरोध गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र सृष्टि चलचित्र मन्दिरका कर्मचारीबीच झडप हुँदा एक दर्जन विद्यार्थी घाइते भएका छन् । सृष्टि चलचित्र मन्दिरमा एक सातादेखि उक्त चलचित्र प्रदर्शन भइरहेको भन्दै विद्यार्थीले पोस्टर च्यातेर जलाएपछि झडप भएको प्रहरीले जनाएको छ । नेपालगन्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद शर्माका अनुसार घाइते हुनेहरूमा आदर्श उच्च माविका शोभाराम मौर्यको टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचार शिक्षण अस्पताल नेपालगन्जमा भइरहेको छ भने अन्य घाइते विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् । विद्यार्थी नेता खगेन्द्र खनालका अनुसार सृष्टि हलका कर्मचारीले खुकुरी र चिरपटले आक्रमण गरेका थिए । उनले विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिए चरणबद्व आन्दोलन गर्ने चेतावनी दिएका छन् । उक्त चलचित्रमा गौतमबुद्व भारतमा जन्मेको देखाई नेपालको राष्ट्रियतामाथि खेलवाड गरिरहेको भन्दै बिहीबार बिहानदेखि नेपालगन्जका विद्यार्थीहरू प्रदर्शनमा उत्रेका थिए । उनीहरूले उक्त चलचित्र प्रदर्शनमा रोक लगाउन सरकारसँग माग गर्दै बजार परिक्रमा गरेका थिए । विद्यार्थीलाई हलका कर्मचारीले कुटपिट गरेको भन्दै स्थानीय बिपी चोकमा टायर बालेर बाटो अबरुद्व पारेका थिए । प्रमुख जिल्ला अधिकारी गणेेश खत्रीले छलफलपछि विवाद टुंगिएको जानकारी दिँदै उक्त चलचित्र प्रदर्शनमा रोक लगाइएको जानकारी दिए ।

No comments: