News

Jan 23, 2009

मन्त्रीहरूबाटै आन्दोलनको धम्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले मधेसवादी दलहरूसँग भएका आठबुँदे सहमति कार्यान्वयनका लागि राज्यसामु समयसीमा तोक्ने तयारी भइरहेको बताएका छन् । रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले फोरम केन्द्रीय समितिले सरकारलाई म्याद दिने उल्लेख गरे । यादवले सहमति कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पटकपटक प्रस्ताव राखे पनि प्रधानमन्त्रीबाट खासै गम्भीरता नदेखाइएको आरोप लगाए । उनले संविधान निर्माणमा मधेसी जनताको मागको सम्बोधन हुनुपर्नेमा जोड दिँदै मधेस स्वायत्त प्रदेश बनाइछाड्ने दृढता व्यक्त गरे । मधेस आन्दोलनको जनादेश नै मधेस स्वायत्त प्रदेश बनाउनु रहेको उनको जिकिर थियो । मधेसमा सक्रिय सशस्त्र समूहहरूलाई पनि शान्तिपूर्ण राजनीतिमा आउन उनले आग्रह गरे । सत्तारुढ सद्भावना पार्टीले विगतका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रने घोषणा गरेको छ । सद्भावना अध्यक्षसमेत रहेका आपूर्तिमन्त्री राजेन्द्र महतोले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठबुँदे सहमति कार्यान्वयन गर्न सरकारले चासो नदिएकाले आन्दोलन गर्न लागेको बताए । सद्भावनाले आगामी १६ फागुनपछि समय तोकेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । दोस्रो चरणअन्तर्गत प्रत्येक जिल्लामा प्रदर्शन गर्ने, प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउने, जागरण कार्यक्रम गर्नेजस्ता दबाबमूलक कार्यक्रमको घोषणा पनि उसले गरेको छ । पार्टीको सम्पन्न विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महतोले १० वैशाख ०६६ सम्म पनि सहमति कार्यान्वयन नभए संविधानसभा छोडेर तेस्रो मधेस आन्दोलन गर्ने चेतावनी दिए ।

No comments: