News

Jan 28, 2009

एक जोडी तेस्रोलिंगी घरबाट लखेटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रेमविवाह गरेको एक जोडी तेस्रोलिंगी घरबाट लखेटिएको छ । बिहे गरेकै कारण सिन्धुलीको दुधौलीस्थित माओवादी सेनाको क्याम्पबाट निकालिएपछि घर पुगेका उनीहरूलाई आमा-बुबा र छिमेकीले लखेटेका हुन् । सबैतिरबाट निकालिएका उनीहरू अहिले तेस्रोलिंगीकै क्षेत्रमा काम गर्ने मानवकल्याण समाजको शरणमा पुगेका छन् । ०६२ सालदेखि दुधौली क्याम्पमा तालिम लिएर बसेका सप्तरीको खोक्सार पर्वाह-४ की तेस्रोलिंगी २१ वषर्ीया सरिता यादव र सिराहाको गोविन्दपुर-५ की २० वषर्ीया रीता यादव समाजको शरणमा पुगेका हुन् । प्रेम बिहे भएको थाहा पाएपछि क्याम्पबाट निकालिएको उनीहरूले बताएका छन् । क्याम्पमै रहँदा दुवैजनाले घरबिदा लिएर जनकपुरको रामजानकी मन्दिरमा गई बिहे गरेका हुन् । स्वेच्छाले माओवादी छापामार भएको बताउने सरिताले भनिन्, 'हामी रहर र कसैले फकाएर छापामार भएका होइनाँै । तर, क्याम्पमा बसेर तालिम लिँदै गर्दा एक-अर्कालाई मन परायौँ र बिहे गर्‍यौँ । तालिम लिएर सँगै बस्ने क्रममा साथीहरूले हाम्रो प्रेमका बारेमा कमान्डरलाई भनेछन् । अनि सँगै बस्न दिइएन ।' प्रेम बिहे स्विकार्न आग्रह गर्दा पनि सुनुवाइ नभएको रीताले बताइन् । सँगै बस्न नदिए आत्महत्या गर्ने बताएपछि क्याम्पबाट निकालिएको उनीहरूको भनाइ छ । क्याम्पबाट लखेटिएपछि उनीहरू सरिताको सप्तरीस्थित घरमा पुगेका थिए । 'साथी भनेर रीतालाई केही दिन घरमा राखेँ । परिवारलाई ढाँटेर कति दिनसम्म बस्ने भन्ने लागेर मन्दिरमा बिहे गरेको जानकारी गराउनासाथ आमा-बुबाले सातो खाए,' बिहेको चाल पाएपछि सरिताका बुबाआमा र छिमेकीबाट एक साताअघि घरबाट निकालिएकी सरिताले भनिन्, 'समाजमा नपच्ने काम तिमीहरूलाई कसले गर्न लगायो ? भन्दै घर र गाँउबाटै लखेटे ।' बिहेपछि आपmनो घरमा पनि गएको रीताले बताइन् । तर, उनको घरपरिवारले भने सरितालाई केटा सम्झेर केही गरेका छैनन् । 'उहाँहरूले सरितालाई केटा नै सम्झिरहनुभएको छ । मैलै केटी हो भन्दा पनि पत्याउनुभएन,' समलिंगी बिहे गरेको बताउँदा पनि परिवारले विश्वास नगरेको रीताले बताइन् । इटहरी आइपुगेका उनीहरूले समाजमा विकृति भित्र्याउन खोजेका नभई तेस्रोलिंगीको मान्यता र अन्य नागरिकसरहको सम्मानजनक व्यवहार खोजेको बताए । समाजले समलिंगी बिहेलाई नपचाएसम्म दुवैजना जनचेतना फैलाउन सक्रिय हुने उनीहरूको भनाइ छ । समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माले पनि उनीहरूले ठूलो अपराध नगरेको बताए । सर्वोच्च अदालतले दिएको निर्देशन सरकारले कार्यान्वयनमा ल्याउन नसकेका कारण तेस्रोलिंगी घरपरिवार तथा समाजबाट लखेटिनुपरेको उनीहरूको तर्क छ ।

No comments: