News

Jan 21, 2009

कस्ता पुस्तक मनपर्छ अमेरिकाका राष्ट्रपति ओबामालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'शब्दसँग समाज परिवर्तन गर्ने शक्ति हुन्छ' संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाराक ओबामाले केही वर्षअगाडि लेखेका थिए- 'सही शब्दबाट सबै कुरा परिवर्तन गर्न सम्भव हुन्छ, दक्षिण अफ्रिका वा अमेरिकाको गरिब इलाकामा बस्ने अश्वेत बालकको स्थिति होस् या मेरै कमजोर स्थिति ।' कलेज पढ्दा उनी दक्षिण अफ्रिकामा व्याप्त रंगभेदविरोधी आन्दोलनमा सहभागी भए । ओबामाको वाक् र लेखनक्षमता लामो अध्ययनका कारण मात्रै सम्भव भएको हो । आफ्ना भाषणमा अरूलाई विश्वास दिलाउने, परिवर्तन गर्ने र प्रेरित गर्ने शब्द प्रयोग गर्न ओबामा माहिर मानिन्छन् । भाषाको चमत्कारी र पुस्तकप्रतिको मोहले नै ओबामालाई दसौं लाख मानिसबीच आफ्नो विचार आदान-प्रदान गर्ने क्षमता दियो । रंग र धर्मका बारेमा जटिल विचारलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता गहिरो पुस्तक अध्ययनबाट सफल भएको हो । पुस्तकप्रेमले ओबामालाई विश्व र विश्वलाई हेर्ने आफ्नो दृष्टिकोण निर्माणमा सहयोग पुर्‍यायो । अन्यबाट जानकारी लिन र गहिरो ज्ञान पाउनका लागि आफूले जीवनभरि पुस्तकको साथ खोजेको ओबामाले आफ्नो पहिलो पुस्तक 'डि्रम्स र्फम माई फादर'मा लेखेका छन् । पुस्तकले ओबामालाई एक्लोपनाबाट त बाहिर ल्याउन सहयोग गर्‍यो नै, अहिले आएर शक्ति र प्रसिद्धिको शिखरसमेत चढाएको छ । किशोरावस्थामा अमेरिकामा व्याप्त रंगभेदका बारेमा बुझ्न आफूले जेम्स वाल्डविन, राल्फ इलिसन, ल्याङस्टन हिउजेज, रिचार्ड राइट र डब्लुबी बाइसका पुस्तक ओबामाले पढेका थिए । कलेज जीवनमा ओबामाले आध्यात्मिक तथा बौद्धिक ज्ञानको खोजीमा फ्रेडरिक नित्से र सेन्ट अगस्टाइनजस्ता चिन्तक तथा दार्शनिकको पुस्तक घोत्लिएर पढ्थे । इन्डोनेसियामा बाल्यकाल बिताएका ओबामाले आमाले दिएका पुस्तकमार्फत अमेरिकी नागरिक अधिकार आन्दोलनका बारेमा थाहा पाए । पछि स्नातक सकेपछि ओबामाले सिकागोमा कमिटी अर्गनाइजरका रूपमा काम गरे । त्यसवेला उनले 'पार्टिङ द वार्टस' नामक पुस्तक पढे । 'पार्टिङ द वार्टस' टाइलर ब्रान्चद्वारा लिखित डा. मार्टिन लुथर किङको जीवनकथा हो । हालै ओबामाले सरकार कसरी चलाउने भन्ने विषयका पुस्तकहरू पढेका छन् । उनले अब्राहम लिंकनले आफ्नो प्रशासनमा पूर्वविपक्षीलाई राखेको सम्बन्धमा लेखिएको पुस्तक 'टिम अफ राइभल्स' पढेको बताइएको छ । यस पुस्तक डोरिस किर्यन्स गुडवुनले लेखेका थिए । यही पुस्तक पढेर ओबामाले आफ्नो क्याविनेटमा आफ्नै प्रतिद्वन्द्वी हिलारी रोदह्याम क्लिन्टनलाई समावेश गरेको बताइन्छ । यसबाहेक ओबामाले रोजोभेल्टको राष्ट्रपतिका रूपमा पहिलो सय दिनका सम्बन्धमा लेखिएको पुस्तक र स्टेभ कोल्सको 'गोस्ट वार्स' पढे । यो पुस्तक अफगानिस्तान र अमेरिकी गुप्तचर संस्था-सिआइए) का बारेमा छ । ओबामाले राष्ट्रपतिका रूपमा भोग्ने अनेकौं चुनौतीका बारेमा यस पुस्तकले स्पष्ट पार्नेछ ।ओबामा उपन्यास तथा कविता पनि खुबै मन पराउँछन् । उनले आफ्नो फेसबुकमा सेक्सपियरका नाटक, हर्मन मेलभिलीको 'मोबी-डिक', मेरिलिन रोविन्सनको 'गिल्ड' र बाइबल मनपर्ने पुस्तकका रूपमा उल्लेख गरेका छन् । अब्राहम लिंकनको संकलित लेखहरू र इमर्सनको 'सेल्फ रिलायन्स' पुस्तकले ओबामाको भाषाप्रतिको चेतनालाई विकास मात्र गरेन, उनलाई इतिहासको दुर्भाग्य र मानवीय अवस्थाका विचित्रता सम्बन्धमा पनि ज्ञान दियो । कलेजमा आफू कवितामा सार्‍है कमजोर भएको ओबामाले लेखेका छन् । ओबामाले कुनै वेला उपन्यास लेखनलाई व्यवसायका रूपमा अंगाल्नेबारेमा सोचेको उनका जीवनी लेखक डेभिड मेनडेलले बताएका छन् । उनको पहिलो पुस्तक 'डि्रम्स र्फम माई फादर'ले पनि उनको लेखनकलालाई राम्रोसँग प्रस्तुत गरेको छ ।ओबामाले रंगभेदका सम्बन्धमा लेखिएका पुस्तक मन पराउने गरेका छन् । टोनी मोरिसन को 'सङ अफ सोलोमन' ओबामाको मनपर्ने पुस्तक हो । केही वर्षअगाडि साहित्यमा नोबल पुरस्कार पाएकी लेखिका डोरिस लेसिङको 'गोल्डेन नोटबुक' पनि ओबामाको मनपर्ने पुस्तक हो । राल्फ इलिसनको 'इनभिजिबल म्यान', कवि एलिजावेथ अलेक्जेन्डरको कविताका केही हरफ त उनले आफ्नो एउटा भाषणमै पढेका थिए । डेरेक वालकोटको कविताको संगालो भर्खरै ओबामाको हातमा देखिएको थियो । वालकोटको कवितामा दुई संस्कृतिबीच विभाजित हुनुको अनुभव संगालिएको छ । स्कट फिजराल्डको 'ग्रेट ग्याट्स बी' ओबामाको मनपर्ने पुस्तकको सूचीमा छ ।

No comments: