News

Jan 30, 2009

तीन वर्षपछि भेटिए अपहरित बालक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन वर्षअघि अपहरित दाङका एक बालक बुधबार फेला परेका छन् । धर्ना बसन्तपुरका ११ वर्षीय सञ्जीव डिसीलाई तीन वर्षअघि काठमाडौंबाट अपहरण गरिएको थियो । दाङ, हेकुली-८ मिलनचोकका विजय न्यौपानेबाट ०६३ फागुनमा अपहरणमा परेका सञ्जीव बुधबार हेकुलीमा काम गरिरहेको अवस्थामा फेला परेका हुन् ।काठमाडौंस्थित ब्लु मुन बोर्डिङ स्कुलमा तीन कक्षामा पढ्दै गरेका सञ्जीवलाई अपहरण गरी विजयले बालकका आमा-बाबुसँग १३ लाख रुपैयाँ फिरौती मागेका थिए । 'सुरुमा फोन गरेर १३ लाख रुपैयाँ माग गरेको थियो, त्यतिवेला हामीले सक्दैनौँ भन्यौँ,' आमा सञ्जु डिसी (लामा) ले भनिन्, 'केही समयपछि त्यो विजय भन्ने मान्छे सम्पर्कमै आएन, हामीलाई खोज्न नै कठिन पर्‍यो । प्रहरीले पनि सकेन ।' विजयले बालकलाई आफ्ना काका नाता पर्ने गाउँकै केशवराज गौतमको घरमा राखेर काम गराइराखेको अवस्थामा फेला पारेको बालककी ठूलीआमा कमला न्यौपानेले बताइन् । 'कहिले बुटवलमा खोज्यौँ, कहिले पोखरामा खोज्यौँ, खोज्दाखोज्दा थाकिसकेका थियौँ, भेटिन्छ भन्ने आशै मरिसकेको थियो,' छोरो भेटिएपछि उनले भनिन्, 'बच्चालाई यातना दिएर काममा लगाइएको रहेछ ।'अपहरणमुक्त भएका बालक सञ्जीवले आफूलाई दिनदिनै कुटपिट गरेर राखिएको बताए । 'तेरा बा-आमाले पैसा दिन सकेनन्, त्यसैले दुःख पाइस्, अब तँलाई भारत लगेर बेचिदिन्छौँ भन्दै कुट्थे,' टाउकोका घाउ देखाउँदै उनले भने । पढ्दापढ्दै अपहरणमा परेकाले उनको पढाइ पनि छुटेको छ । 'पढाइ छुट्यो, कुटाइ खाइयो, मैले पहिले कहिल्यै पनि त्यसरी काम गरेको थिइनँ, सधैं भाँडा माझ्न र कपडा धुन लगाए,' सञ्जीवले रुँदै भने ।अपहरणकारी विजय १० महिनाअघि कतार गएको बताइएको छ । सञ्जीवका बुबा श्याम डिसी र आमा सञ्जु भारतको नयाँदिल्लीमा होटल गर्दै आएका छन् । छोरो भेटिएको खबर पाएपछि आमा सञ्जु बुधबार दाङ आइपुगेकी थिइन् ।

No comments: