News

Jan 22, 2009

ट्रकबाट बिजुली उत्पादन ५० परिवारलाई बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लेथ व्यवसायीले विद्युत् संकट टार्न आफ्नै ट्रकलाई विद्युत्गृहमा परिणत गरी ऊर्जा उत्पादन र बिक्री थालेका छन् ।नवलपुरका लेथ व्यवसायी दिनेश महतोले पुरानो ट्रकबाट विद्युत् उत्पादन गरी दुई सातादेखि आफ्नो व्यवसाय मात्र चलाएका छैनन्, गाउँका करिब ५० परिवारमा विद्युत् बिक्रीसमेत सुरु गरेका छन् । 'विद्युत् अभावले लेथ व्यवसाय ठप्प भएपछि करिब पाँच लाख मूल्य पर्ने ट्रकलाई नै विद्युत् उत्पादन गर्ने काममा प्रयोग गर्ने सोच आयो', ट्रकका सबै संरचना भत्काएर बनाइएको टर्बाइन देखाउँदै महतोले भने, 'ट्रक इन्जिनमा १५ किलोवाट डाइनोमा जडान गरी विद्युत् उत्पादन थालेको हुँ ।'विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नगर्ने समय राति ६ देखि १० बजेसम्म नियमित रुपमा महतोले आफ्नो विद्युत्गृह सञ्चालन गर्दै आएका छन् । चार घन्टा चलाउन दैनिक कम्तीमा १२ सय रुपैयाँ खर्च हुने उनले बताए । महतोले उत्पादन गरेको विद्युत् छरछिमेकका ५० घरमा वितरण गरिएको छ । प्रत्येक घरबाट दैनिक १० रुपैयाँ शुल्क लिने गरी उनले गाउँमा सामान्य तारमार्फत विद्युत् वितरण गरेका छन् ।'दैनिक कम्तीमा १२ सय रुपैयाँ खर्च हुन्छ । बढी घाटा वेहोरेर विद्युत् उत्पादन गरेको छु', महतो भन्छन्, 'प्रतिबल्व प्रतिरात १० रुपैयाँ लिने सोचले विद्युत् वितरण गरेको हुँ ।' उनले डाइनामोमा करिब ६ सय बल्व बल्ने क्षमता भएकाले सोहीअनुरुप बिक्री भए घाटा नपर्ने जानकारी दिए । अहिले दैनिक पाँच सय रुपैयाँ मात्र उठेको भए पनि लेथ व्यवसाय पनि चलेको र विद्युत् अभाव अनुभव नगरेकाले भएको घाटाप्रति गुनासो नरहेको उनी दाबी गर्छन् । स्थानीय व्यवसायी अजय श्रेष्ठ महतोको सीपलाई राज्यले डिजेलमा अनुदान दिनुपर्ने धारणा राख्छन् । 'महतोले विद्युत् वितरण गरेपछि साँझ लोडसेडिङ अनुभव गर्नुपरेको छैन, बत्ती, टेलिभिजन र अन्य काम गर्न सहज भएको छ', उनले भने, त्यस्ता व्यक्तिलाई राज्यले सहयोग गरे ग्रामीण क्षेत्रमा स-साना विद्युत् उत्पादनमा थप प्रोत्साहन पुग्ने थियो ।'

No comments: