News

Jan 23, 2009

मलेसियाले विदेशी कामदार नलिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसियाले विदेशी कामदार नलिने भएको छ। मलेसियाका गृहमन्त्री सयद हमीद अलवरले बिहीबार राती रोजगारदातालाई विदेशी कामदार लिन प्रतिबन्ध लगाएको घोषणा गरेका हुन्। आर्थिक मन्दीको मार खेपिरहेको मलेसियाले आफ्ना नागरिकलाई रोजगारीका अवसर उपलब्ध गराउन विदेशीलाई प्रतिबन्ध लगाउने नीति अवलम्बन गरेको अलवरले जानकारी दिएको बीबीसी लगायतका संचार माध्यमले जनाएका छन्। बेरोजगार नेपाली युवाका लागि मलेसिया दोस्रो ठूलो रोजगार गन्तव्य हो। दुई वर्षअघिसम्म मलेसियामा वर्षेनी ८० हजारसम्म नेपाली युवा कामका लागि जाने गरेकामा यस वर्षदेखि ५० हजारजति त्यसतर्फ जाने गरेका थिए। अहिले नेपालीका लागि कतार प्रमुख गन्तव्य हो। मलेसियाले आर्थिक मन्दीका कारण कामदार कटौती गर्दा विदेशीलाई पहिला निष्काशन गर्न निर्देशन दिएको छ। मलेसियामा २० लाखभन्दा बढी एसियाली युवा उद्योग, कारखाना र सेवा उद्योगमा कार्यरत थिए। मलेसियामा इन्डोनेसियालगायत दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंकाबाट ठूलो संख्यामा कामदार जाने गरेका थिए। गृहमन्त्री अलवरले स्टार्टस टाइमलाई दिएको जानकारीअनुसार चालु जनवरी महिनामा मात्र ४५ हजार विदेशी कामदारले अवकाश पाउनेछन्। थप विदेशी कामदार हटाउन मानव संशाधन मन्त्रालयले तयारी गरिरहेको छ। सरकारले लिएको नयाँ नियमअनुसार सेवा र उद्योग क्षेत्रमा कार्यरत उच्च दक्ष कामदार भने लिन सकिनेछ। यो निर्णयबाट उद्योग र सेवा क्षेत्रमा काम गरिरहेका झन्डै १० लाख विदेशी कामदार प्रत्यक्षरूपमा प्रभावित हुनेछन्। मानव संशाधन मन्त्री दात्तुक डा. एस. सुब्रामनीयमले विदेशी कामदारको अवधि थप नगर्ने नीति अवलम्बन गरिएको जानकारी सञ्चार माध्यमलाई दिएका छन्। उनले हाल कार्यरत कामदारका सम्बन्धमा छलफल भइरहेको जानकारी दिएका छन्। ´करार अवधि रहुन्जेलसम्मका लागि विदेशी कामदारलाई ननिकाल्ने, तर मलेसियएन कामदार निष्काशन गरी विदेशी कामदारको अवधी थप गर्न पाइँदैन´, मन्त्री सुब्रामनीयमले संचार माध्यमलाई बताए। सरकारले विभिन्न प्रकारका कारखाना, पसल तथा रेष्टुरेन्टमा मलेसियन कामदारको रोजगारी प्रत्याभूतिका लागि विदेशी कामदार प्रतिबन्ध गरेको जनाएको छ। अक्टोबर देखि जनवरीसम्म १० हजार मलेसियन र ३ हजार विदेशी कामदारले रोजगारी गुमाइ सकेका छन्। मलेसियाको अर्थतन्त्र निर्यात निर्भर भएको र विश्व बजारमा मन्दी देखिएकाले निर्यातमूलक उद्योगहरूले कामदार कटौती गर्नुपर्ने अवस्था आएको हो। मलेसियाले प्लान्टटेशन र निर्माण क्षेत्रमा विदेशी कामदारलाई रोजगारी दिनेछ। यी क्षेत्रमा नेपाली कामदारको संख्या कम छ। यी क्षेत्रमा कम तलबमा बढी समय जोखिमपूर्ण काम गर्नुपर्छ। वैधानिक माध्यमबाट आउने कामदार यी क्षेत्रमा काम गर्न अनिच्छुक भएपछि झन्डै १० लाख अवैधानिक कामदार यी क्षेत्रमा संलग्न छन् । मलेसियाको यो निर्णयले इन्डोनेसियाका ३ लाख कामदारले यो वर्ष रोजगारी गुमाउनेछन्। ´यो नेपालका लागि ठूलो झट्का हो´, श्रम तथा रोजगार प्रवर्द्धन विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने।

No comments: