News

Jan 24, 2009

सीमा विवाद मिलाउन राजनीतिक पहल गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले दार्चुलाको कालापानी र नवलपरासीको सुस्ताको सीमा विवाद मिलाउन राजनीतिक पहल गर्ने भएको छ । दुई देशका प्राविधिकहरू सम्मिलित संयुक्त सीमा रेखांकन टोलीले दुई ठाउँमा उत्पन्न विवाद मिलाउन नसकेपछि सरकारले राजनीतिक पहल गर्न लागेको हो । सीमा अतिक्रमणबारे बुझ्न व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिद्वारा शुक्रबार बैठकमा बोलाइएका परराष्ट्रमन्त्री उपेन्द्र यादवले कालापानी र सुस्ताबाहेकको ठाउँमा सीमा विवाद समाप्त भइसकेको दाबी गरे । 'कालापानी र सुस्ताबाहेकका ठाउँमा सैद्वान्तिक समस्या छैन । यी दुई ठाउँमा मिलाउन प्राविधिकसँगै राजनीतिक पहल गर्नुपर्ने हुन्छ,' मन्त्री यादवले भने । दुवै देशसित कालापानी र सुस्ताको आधिकारिक र वैज्ञानिक नक्सा नहुँदा विवाद जारी रहेको पनि यादवले बताए । उनले भने, 'दुवै पक्षलाई मान्य हुने नक्सा नै छैन ।' दुई ठाउँबाहेकको सीमा क्षेत्रको संयुक्त प्राविधिक टोलीले स्टि्रप नक्साहरू तयार गर्नुका साथै रेखांकन कार्य सम्पन्न गरिसकेको उनले समितिलाई जानकारी दिए ।सीमा विवाद बढ्न नदिन तथा विवाद देखिएका ठाउँको समस्या सामाधान गर्न प्राविधिक, सचिवस्तरीय र राजनीतिक पहल गर्ने नीति सरकारले लिएको मन्त्री यादवले बताए । उनले स्थानीयस्तरमा जनता पनि सीमाबारे सचेत हुनुपर्ने बताए ।समितिले मन्त्री यादवसँगै परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य र नापी विभागका महानिर्देशक राजाराम छतकुलीसित पनि सीमा अतिक्रमणबारे स्पष्टीकरण लिएको छ । तर, मन्त्री, सचिव र नापी विभागका महानिर्देशकको जवाफप्रति समितिका सदस्यहरू सन्तुष्ट भएका छैनन् । उनीहरूले अहिलेसम्म तयार गरिएका स्टि्रप नक्सा र सीमा रेखांकन समितिमा देखाउनुपर्ने माग गरेका छन । एमाले सभासद् भीम रावलले विगतमा विभिन्न २१ जिल्लाका ५४ स्थानमा भारतीय पक्षबाट सीमा अतिक्रमण भएको बताउँदै संयुक्त प्राविधिक टोलीले ती ठाउँहरूलाई गरेको सम्बोधनका बारेमा जानकारी गराउन माग गरे ।

No comments: