News

Jan 21, 2009

एक दलित पानी छोएको निहुमा निर्घात कुटपिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पश्चिम मकवानपुरको मनहरी गाविस-७ मा पानी छोएको निहुँमा स्थानीय किशोरबाट एक दलित कुटिएका छन् । सो गाविस ज्यामिरेका जितबहादुर सुनारलाई स्थानीय शिव र हिमाल गिरीले मंगलबार बेलुका कुटपिट गरेका हुन् । कुटपिट गर्ने दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अरुण शाहले बताए । छलफल भएको भन्दै पीडकका दाजु राजेन्द्रले सुनारलाई मंगलबार बेलुका घरमै बोलाएका थिए । 'म र राजेन्द्र एकै ठाउँमा काठ चिर्ने काम गर्छौं । सरसल्लाह छ भन्दै राजेन्द्रले मलाई बोलाए,' साथीसँगै गएका उनले खाना खाइरहेका राजेन्द्रले घाँटीमा खाना अडि्कयो भन्दै पानी मागेपछि गाग्रीबाट पानी सारेर दिएको बताउँदै भने, 'म दलित मान्छे घरभित्र त छिरेको छैन, कसरी पानी छुनु भनेँ । तर, उनले केही फरक पर्दैन । म पनि त तपाईंको घरमा गएर खान्छु नि, पानी त दिनूस् भने । मैले हुन्छ भनेर पानी सारेर दिएँ ।' पानी सारेर दिँदै गर्दा गाउँतिरबाट घर आएका राजेन्द्रका भाइ शिव र हिमालले 'घरभित्र पस्ने तँ को होस्, किन पानी छोइस्' भन्दै कुटपिट गरेको पीडितले बताए । सुनारलाई घरभित्रै पिटेपछि आफूले छुट्याएको उनीसँगै गएका स्थानीय पवन विकले बताए । 'मैले बेलैमा नछुट्याएको भए कुटेर मार्नेरहेछन्,' विकले भने । कुटपिटबाट सुनारको शरीरमा चोट लागेको छ भने पीडकले उनको कपडा च्यातिदिएका छन् । कुटपिटबाट घाइते सुनारले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पीडकलाई प्रहरीले पक्राउ गरेको हो । उजुरीमा पानी छोएको निहुमा निर्घात कुटपिट गरिएकाले दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ । पीडकमाथि सार्वजनिक अपराध गरेको आरोपमा कारबाही गर्ने प्रहरीले जनाएको छ ।

No comments: