News

Jan 28, 2009

एक आमाले एकैपटक आठ सन्तानलाई जन्माइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ अमेरिकाकी एक आमाले एकैपटक मंगलबार आठ सन्तानलाई जन्म दिएकी छिन् । एकैपटक आठ सन्तान जन्माउने उनी विश्वकी दोस्रो महिला हुन पुगेकी छिन् । उनले क्यालिफोर्नियाको लस एन्जेलस अस्पतालमा अपरेसन गरेर ६ छोरा र दुई छोरी जन्माएकी हुन् । बच्चाहरू २९ हप्तामा जन्मिएका हुन् । बच्चाहरूको तौल आठ सय २० ग्रामदेखि एक केजी ४७ ग्रामसम्म छ । आमा र बच्चाको स्वास्थ्य राम्रो भएको चिकित्सकले बताएका छन् । आमाको पहिचान सार्वजनिक गरिएको छैन । बच्चाहरू पाँच मिनेटको फरकमा जन्मिएको बताइएको छ । सात सन्तानलाई अपरेसनमार्फत जन्माउने चिकित्सकले पूरा तयारी गरेका थिए तर, आठौँ बच्चा जन्मिँदा उनीहरू आफैं अचम्ममा परेका थिए । तीन सन्तानलाई स्वास फेर्न सहयोग दिइएको भए पनि अन्यले आफैं स्वास फेरिरहेका छन् । बच्चालाई इन्क्युवेटर्समा कम्तीमा ६ हप्तासम्म राखिनेछ । सबै आठ सन्तानलाई आमाले स्तनपान गराउने अस्पतालका अधिकारीले बताएका छन् ।पहिलोपल्ट अमेरिकाको टेक्सासकी महिला केम चुकबुले १९९८ को डिसेम्बरमा एकैपटक आठ जीवित सन्तान जन्माएकी थिइन् । तर, एक सन्तानको मृत्यु एक हप्तापछि नै भयो । बाँचेका सात बच्चा डिसेम्बरमा १० वर्ष पुगेका छन् । चुकबुले आठ सन्तान जन्माउने आमालाई शुभकामना दिएकी छिन् । 'आठ सन्तान एकपल्ट जन्माउँदाको मज्जा लिनुहोस् । यो अवसर एउटा सौभाग्य हो,' उनले भनिन् ।

No comments: