News

Jan 24, 2009

माओवादी सेनाका कमान्डर खाग तस्करीको आरोपमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी जनमुक्ति सेनाका कम्पनी कमान्डर र जिल्लास्तरीय नेता खाग तस्करीको आरोपमा पक्राउ परेका छन् । दार्चुलाका वनअधिकृत रमेश चन्दको नेतृत्वको मिसन टोलीले खागसहित बिहीबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रवीन्द्र ऐडी विवस र मानबहादुर कुँवर छन् । उनीहरूमध्ये विवस माओवादी जनसेनाका कम्पनी कमान्डर हुन् । महेन्द्रनगरको राजमार्गस्थित शिव मन्दिर नजिकबाट खाग लिएर बसपार्कको राजधानी होटलअगाडि ओर्लिंदा मिसन टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूसँगै रहेका तीनजना भागेका छन् ।भीमदत्त नगरपालिका-७ हल्दुखालमा बस्दै आएका विवस कैलालीस्थित जनमुक्ति सेनाको सातौं डिभिजनमा कार्यरत हुन् । बझाङको पीपलकोट-५ घर भएका विवस ०५८ सालदेखि माओवादीमा संलग्न छन् । पक्राउ परेका अर्का कुँवर दार्चुला-काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष हुन् । उनी माओवादी दार्चुला जिल्ला कमिटीका सल्लाहकारमा समेत छन् । दार्चुला पीपलचौरी-४ घर भएका कुँवरले खागसहित पक्राउ परेपछि आफूले सामान अर्कालाई दिनमात्र लगेको बताए । डोटी घर भएका देवराज फुलाराले दिएको सामान भारतीय नागरिकलाई बुझाउन राजधानी होटलमा ल्याएको उनले दाबी गरे ।मिसन टोलीका अनुसार खाग किन्ने दुईजना भारतीय नागरिक र दार्चुला राप्ला घर भएका लालासिंह धामी भागेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा राखिएका विवसले आफूले कुँवरलाई मोटरसाइकलमा बोकेर मात्र ल्याएको बताए । नातेदारको होटल भएकाले आफू त्यहीँ बस्दै आएको र मोटरसाइकलमा ल्याइदिन आग्रह गरेपछि ल्याएको बताए । बरामद खागको मूल्य अन्तर्राष्ट्रिय बजारमा १४ लाखदेखि ४० लाख रुपैयाँसम्म पर्ने कञ्चनपुरका वनअधिकृत सूर्यकान्त सिग्देलले बताए । दुवैजनालाई अनुसन्धानका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षमा राखिएको छ । यसैबीच, मिसनमा निस्केका दार्चुलाका वनअधिकृत चन्द खागसहित विवस र कुँवरलाई अपहरण गरेको आरोपमा चार घन्टा थुनिएका छन् । बिहीबार साँझ साढे ५ बजे खाग समातेलगत्तै कञ्चनपुरका प्रहरी प्रमुख माधवप्रसाद नेपालको निर्देशनमा ६ बजे चन्दलाई पक्राउ गरिएको हो । उनलाई चार घन्टा थुनामा राखेपछि राति १० बजे कञ्चनपुरका वनअधिकृत सूर्यकान्त सिग्देलको रोहवरमा छोडिएको हो । वनअधिकृत भएको बताए पनि नराम्रो व्यवहार गरेर प्रहरी प्रमुख नेपालले आफूलाई थुनामा राखेको चन्दले गुनासो गरे । उनले भने, 'राम्रो काम गरेँ भन्ने सोच्या त उल्टै थुनामा बस्नुपर्‍यो ।' प्रहरी प्रमुख नेपालले सर्वसाधारणको अपहरण गरेको सूचना आएकाले पक्राउ गरिएको प्रतिक्रिया दिए । आफूहरूलाई कुनै जानकारी नदिइएकाले शान्तिसुरक्षालाई ध्यानमा राखेर चन्दलाई नियन्त्रण लिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी हिमराज विनाडीले बताए ।

No comments: