News

Jan 25, 2009

प्रमुख सचेतक पोष्टबहादुर बोगटीले नक्कली नम्बरप्लेट राखे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीको संविधानसभा दलका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले सचिवालयबाट लिएको सरकारी गाडीमा नक्कली नम्बरप्लेट राखेका छन् । सचिवालय यस सम्बन्धमा थाहा पाएर पनि मौन छ । बोगटीले प्रमुख सचेतकका हैसियतमा सचिवालयसित सुविधाको गाडी माग गरेका थिए । सचिवालयले गत २१ पुसमा उनलाई बा१झ ४४५१ नम्बरको पजेरो उपलब्ध गराएको थियो । तर, उनले सचिवालयको सो गाडीमा नक्कली निजी नम्बरप्लेट बनाएर चढिरहेका छन् । सेतो प्लेटलाई रातो बनाएर उनले बा१च ४४५१ राखेका छन् । रातो नम्बरप्लेटको पछाडिपट्टि गाडीको सक्कली नम्बरप्लेट सजिलै देखिन्छ । बोगटीले गाडीको नम्बरप्लेट मनपरी ढंगले फेरेर चलाइरहेको संविधानसभा सचिवालयलाई पनि जानकारी छ । तर, 'ठूला दलका ठूला नेतासित डराएर कसैले आपत्ति नजनाएको' स्रोत बताउँछ । सचिवालयको सवारी व्यवस्था शाखाले कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टराईलाई यस सम्बन्धमा जानकारी गराएको छ । सम्बन्धित कार्यालयलाई गृह मन्त्रालयले अनुमति दिएपछि यातायात व्यवस्था कार्यालयले मात्रै सरकारी नम्बरप्लेटको गाडीलाई निजी नम्बरप्लेट दिन्छ । सवारी ऐनअनुसार मनपरी ढंगले नम्बरप्लेट परिवर्तन गर्नु अपराध मानिन्छ । संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने यस सम्बन्धमा आफूलाई थाहा नभएको बताए । 'युएनडिपीले दिएका गाडीबाहेक सचिवालयसित निजी नम्बर प्लेटको गाडी छैन । कसैले नम्बरप्लेट फेरेको पनि मलाई थाहा छैन,' उनले भने । बोगटीले चढेको गाडी युएनडिपीले दिएको होइन ।

No comments: