News

Jan 21, 2009

चाँदनी चोक टु चाइनाको नेपाली सिनेकर्मीले विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्न्दी फिल्म 'चाँदनी चोक टु चाइना'ले झूटो संवाद राखिएको विषयमा नेपाली सिनेकर्मीले विरोध सुरु गरेका छन् । उक्त फिल्मको एउटा दृश्यमा गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने आशयको संवाद रहेको छ । गत शुक्रबारदेखि काठमाडौको जय नेपाल हलमा प्रदर्शन भए पनि विद्यार्थीका विरोधका कारण बुधबार फिल्म प्रदर्शन हुन सकेन । चलचित्र क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिले 'चाँदनी चोक टु चाइना'को डिभिडी र सिडीसमेत जफत गर्नुपर्ने माग गरेका छन् । 'यस्ता भ्रामक प्रचार कसैले पनि गर्न पाइँदैन, नेपालको अस्मितामाथि आँच आउने फिल्म हलमा रोकेर मात्रै हुदैन, बजारमा छरिएका डिभिडी, भिसिडीसमेत राज्यले जफत गर्नुपर्छ'- निर्देशक समाजका अध्यक्ष एवं विकास बोर्ड सदस्य केपी पाठकले भने । यस्ता फिल्मको विरोध गर्न नेपाली दर्शकसँग आग्रह गर्छन् उनी । यति भइसक्दा पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीले चासो नदेखाएकोमा रोष व्यक्त गरे आदिवासी चलचित्रकर्मी संघका अध्यक्ष युवराज लामाले । आमभारतीयको नेपालीप्रति हेपाह दृष्टिकोण छ भन्दै लामा भन्छन्- 'भारतीयहरू सहअस्तित्व स्वीकार्न चाहँदैनन्, यस विषयमा परराष्ट्र मन्त्रालयले तुरुन्तै पहल गर्नुपर्छ, एक मुलुकको विषयमा अर्को मुलुकको नागरिकले झूटो प्रचार गर्न पाउँदैन ।' हलमा लाग्ने फिल्मका लागि आपत्तिजनक दृश्य काटिएको जानकारी दिँदै सेन्सर बोर्ड सदस्य सुचित्रा श्रेष्ठले सिडी र डिभिडीका पनि त्यस्ता आपत्तिजनक दृश्य सम्बन्धित निकायले काट्नुपर्ने धारणा राखिन् । बोर्ड अध्यक्ष गणेश भण्डारीले सञ्चारमन्त्री कृष्णबहादुर महरासँग यस विषयमा कुरा भइसकेको जानकारी दिँदै चाँडै समस्या समाधान हुने बताए ।

No comments: